मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा आज मतदान भैरहेको छ । आजको मतदानले आगामी चार वर्षकालागि राज्य सरकारको चयन गर्नेछ ।

विहानैदेखि शुरु भएको मतदानमा शुरुका केही घण्टामै ४० प्रतिशत मत खसेको समाचारमा उल्लेख छ । तर केही मतदान केन्द्रहरुमा ठूलो लाइन रहेको भन्दै मतदाताहरुले गुनासो गरिरहेका छन् । अष्ट्रेलियामा हरेक वालिग नागरिकले अनिवार्य रुपमा मतदानमा सहभागी हुनुपर्ने नियम छ । भिक्टोरियन निर्वाचन आयोगले जनाए अनुसार २५ लाख मतदाताहरुले आज मतदान गर्नेछन् ।

निर्वाचन अघि गरिएको पूर्वानुमानले लेबर पार्टीका नेता एन्ड्रिउको पक्षमा जनलहर बढी देखिएको छ । त्यसैले आगामी सरकार लेबर पार्टीकै हुने अनुमान गरिएको छ । तर अन्य पार्टीको पक्षमा पनि उत्साहजनक जनलहर भएको समाचार एजेन्सीहरुले जनाएका छन् । मतदान सकिए लगत्तै आजै साँझ ६ बजेदेखि मतगणना गरिने जनाइएको छ ।

Comments

comments