डोटीको छतिवन-५ कटपटे ( गुगल तस्विर)मा भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २९ पुगेको  आधिकारिक पुष्टि भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा  ११ महिला, १३ पुरुष र ५ बालबालिका रहेका छन्। मृत्यु हुने ती  मध्ये २८ जनाको सनाखत भएको प्रहरीले जनाएको छ |
दुर्घटनामा मृत्यु हुनेहरुमा सरस्वतीनगर गाविस वडा नम्बर १ का २५ वर्षीया कृष्णा मल्ल, सकुन्तला मल्ल, वडा नम्बर २ का ४० वर्षीय राजेन्द्र शाही, ६२ बर्षीय  हरीनादेवी ओझा, ३२ बर्षीय  छकुलीदेवी ओझा, अढाई वर्षिय रोहित बोहरा, वडा नम्बर ४ का टेकराज भट्ट, ५ का ३० वर्षिय रेवन्त कडायत, वडा नम्बर ६ का १६ वर्षिय खगेन्द्र भण्डारी, भूमिराज भण्डारी, हरिष कठायत, चक्र बिक, दान बहादुर साँउद,   वडा नम्बर ७ का डम्बरी जोशी, वडा नम्बर ८ का कृष्णराज भण्डारी, २४ वर्षीया पशुपति भट्ट , लक्ष्मीनगर गाविस वडा नम्बर ३ की २७ वर्षीया शान्ति मल्ल, वडा नम्बर ५ की इन्द्रा मल्ल गिरी, बर्छेनकी कृष्णा मल्ल कलेल, लक्ष्मीनगर ५ का टेकेन्द्र गिरी, बसन्ता ओझा, शान्ति कपडेल ,  भागिरथी बडुवाल , डडेल्धुरा खलंगाका लक्ष्मण ठकुराठीर  उनकी एक वर्षिया छोरी सन्ध्या ठकुराठी छन् |
दुर्घटनामा घाईते भएका कैलालीको तेघरीमा कार्यरत नेपाली सेनाका जवान नवराज भट्टको उपचारका लागि अत्तरीया ल्याउने क्रममा बाटोमै र कैलालीको उदासीपुर वडा नम्बर १ का मुकेश सार्कीको उपचारका क्रममा अत्तरीया स्थित सेवा नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाईते भएका मध्ये प्रहरी र स्थानीय बासिन्दाले उद्दार गरी ६२ जनालाई उपचारका लागि अन्यत्र पठाईएको छ। प्रहरीका अनुसार सनाखत हुने मृतकहरुका पत्रकार कर्ण शाही पनि छन्। शाही आर्थिक अभियान राष्ट्रिय दैनिकका सुदूरपश्चिम संवाददाता तथा लेखाजोखा साप्ताहिकका प्रकाशक तथा सम्पादक थिए।  उनी काठमाण्डौंबाट प्रकाशित अटोमोवाईल मासिक पत्रिकाका लागि समेत सुदूरपश्चिमबाट रिपोर्टिङ गर्थे। शाही सुदूरपश्चिमको पहिलो आर्थिक पत्रकार मानिन्थे |
घाइते स्वयम्ले प्रहरीलाई उद्दारका लागि खबर गरे 
 
सय भन्दा बढि यात्रु सवार रहेको बस सडकबाट झण्डै अढाई सय मिटर तल खसेको थियो। जंगल  सुनसान ठाउँमा भएको बस दुर्घटनाका प्रत्यक्षदर्शी कोहि थिएनन् | घट्नामा जोगिएका एक  घाईते यात्रुले  जिल्ला प्रहरी कार्यालय कैलालीको कन्ट्रोलमा फोन गरेर घट्नाको जानकारी दिएपछि बस दुर्घटना भएको प्रहरीले थाहा पाएको थियो। ढिलो गरि घटना स्थल पुगेको  प्रहरीले स्थानीयवासीको सहयोगमा राती ११:३०  बजेसम्म  घाइते तथा मृतकको उद्दार गरेका थिए। घाइतेहरुलाई उपचारका लागि अत्तरीया, नेपालगञ्ज, भारतको बरेली र हल्द्धानी लगिएको छ।
घटना स्थलमा नै पोस्टमार्टम 
दुर्घटनामा ज्यान गुमाएका यात्रुका आफन्तले आफन्तक शवको पोस्टमार्टमा घटना स्थलमा नै गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् | दुखद घडीमा जिल्ला अस्पताल सम्म लागि अनावश्यक झन्झट व्यहोर्नु पर्ने बाध्यता सिर्जना नगर्न भने भनेपछि प्रहरीले घटना स्थल मै शवहरुको पोष्टमार्टम  गर्न सहमति जनाएको छ |  शवको पोष्टमार्टम गरी आफन्तलाई आजै बुझाईने प्रहरीले जनाएको छ |
Please follow and like us:

Comments