एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले सान्टियागो सोलारीलाई क्लबको स्थायी प्रशिक्षकको रुपमा नियुक्त गरेको छ । लगातारको खराब प्रदर्शनपछि जुलियन लोपेतेगीलाई बर्खास्त गरेर रियल मिड्रडले क्लबको जिम्मा अन्तरिमकालका लागि सोलारीलाई सुम्पिएको थियोे ।

४२ वर्षका सोलारीले अक्टोबर २९ देखि क्लबको जिम्मा सम्हालेका हुन् । सोलारीले जिम्मा लिए यताका चार खेलमा रियल मड्रिडले लगातार जित निकाल्दै आएको छ । लगातार जित निकाल्न सफल सोलारीलाई रियल मड्रिडले स्थायी प्रशिक्षक बनाएको हो । उनले क्लबसँग सन् २०२१ को जुनसम्मको सम्झौता गरेका छन् । सोलारीले आफूले जिम्मेवारी लिएपछिका चार खेलमा चारैमा जित निकालेका छन् । यो रियल मड्रिडको इतिहासमा कुनै पनि प्रशिक्षकको सबैभन्दा राम्रो सुरुवात हो ।

स्पेनिस नियम अनुसार अन्तरिम प्रशिक्षक दुई हप्ता भन्दा बढी रहन सक्दैनन् । यसले गर्दा रियल मड्रिडले स्थायी प्रशिक्षकको जिम्मा सोलारी वा अरु कोहीलाई दिनु पर्ने थियो । सोलारीले राम्रो गरेकाले उनी नै क्लबको प्रशिक्षक बनेका हुन् ।

Comments