एकीकृत माओवादिका अध्यक्ष पुष्पकमल दाहालले प्रक्रियामा गएर संविधान जारी गरे आफुहरुलाई मान्य नहुने बताउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादि नेतृत्वमा रहेको २२ दलको बैठकले गरेको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै दाहालले कांग्रेस–एमाले जसरी पनि संविधान जारी गर्ने योजनमा रहेको भन्दै प्रक्रियामा गएर संविधान जारी गरे आफूहरुलाई मान्य नहुने बताउनुभएको हो । संविधानसभा भित्र र बाहिर रहेका २२ दलले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सहमतिमा नै संविधान जारी गर्न दबाब दिने उद्देश्यले एकीकृत माओवादी नेतृत्वमा २२ दलले दबाबमुलक कार्यक्रम घोषणा गरेका हुन् । संघीय गणतान्त्रिक मोर्चा, पहिचान पक्षधर संघीय गणतान्त्रिक गठबन्धन र संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनले आज सिंहदरवारमा पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रम सार्वजनिक गरिएको हो ।

सो अवसरमा दाहालले संघीयता, शासकीय स्वरुप तथा न्याय प्रणालिबाहेकका विषयमा प्रक्रियामा गए आफूहरुलाई कुनै आपत्ति नहुने बताउनुभयो । मुख्य विवादित विषयमा सबै दलको सहमति आवश्यक रहेको भन्दै दाहालले यदि प्रक्रियामा गएर संविधान जारी गर्ने कोसिस भए त्यसको हामी प्रतिकार गर्ने चेतावनी दिनुभयो । २२ दलले असोज २४ देखि ३१ गतेसम्मका लागि विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । जस अनुसार असोज २४ गते काठमाडौ.को माईतीघर मण्डलामा विरोध कार्यक्रम गर्ने, २७ गते इटहरीमा विरोध कार्यक्रम गर्ने, २९ गते दाङमा र ३१ गते राजधानीमा जनसभा गर्ने निर्णय गरेको छ ।

Comments