काठमाडौं । चर्चित मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको आज निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा तुलाधारको निधन भएको हो ।

मस्तिष्क स्नायु सम्बन्धी रोगबाट ग्रसित ७७ वर्षीय पद्मरत्न तुलाधर केही दिनअघि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । पछिल्लो समय अधिकारकर्मीका रुपमा क्रियाशील रहदै आउनुभएका तुलाधार उत्पीडितहरूको आन्दोलनका अगुवा समेत हुनुहुन्थ्यो । तुलाधार आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका प्रमुख समेत हुनुहुन्थ्यो । मुलुकमा जातीय, लैंगिक वर्गीय विभेद कायम नै रहेको भन्दै तुलाधार आन्दोलनमा उत्रनु भएको थियो ।

वामपन्थी नेता तुलाधार समस्त कम्युनिष्ट क्रान्तिको प्रतीक रहनुभएको छ । तत्कालिन नेकपा माओवादी)लाई शान्ति प्रक्रिया ल्याउन पनि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । विशेष गरी १२ बुँदे सम्झौताको वातावरण तयार पार्न दमननाथ ढुङ्गानासहित नेता तुलाधारले सहजकर्ताको निर्णायक भूमिका खेल्नुभएको थियो ।

२०४२ मा मालेको समर्थनमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेद्वारका रुपमा उठाइएका तुलाधर आफ्नो स्वार्थका लागि कहिल्यै नलाग्ने त्यागी नेताका रुपमा परिचित हुनुहुन्थ्यो । २०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको नौ महिने सरकारमा तुलाधार स्वास्थ्य मन्त्री रहनुभएको थियो ।

Comments

comments