इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार चेल्सीले आफ्नो अग्रतालाई कायमै राखेको छ ।

गएराति भएको खेलमा चेल्सीले आर्सनललाई २–० ले पराजित गर्दै अग्रता कायम राखेको हो । घरेलु मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन इडेन हाजार्ड र डिएगो कोष्टाले १–१ गोल गरे । यो जितसँगै ७ खेलबाट १९ अंक बटुलेको चेल्सी शीर्ष स्थानमा छ । यस्तै, अर्को खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–१ गोल अन्तरले हरायो । म्यानचेस्टरलाई जिताउन एन्जल डी मारिया र राडामेल फाल्काओले १–१ गोल गरे ।

निकै प्रतिस्प्रधात्मक खेलमा एभर्टनका स्टेभेन नेइस्मिथले सान्त्वना गोल फर्काए । त्यसअघि एभर्टनकै लीटन बेन्सले गरेको प्रहार गोलमा पणित हुन सकेन । जितसँगै म्यानचेस्टर युनाइटेडको ७ खेलबाट ११ अंक भएको छ । यस्तै, प्रिमियर लिगकै गएराति भएका अन्य खेलहरुमा टोटनह्याम हट्स्परले साउथ ह्याम्पटनलाई १–० ले पाखा लगाउँदा वेस्टह्याम युनाइटेडले क्वीन्स पार्क रेन्जर्स्विरुद्ध २–० को जित निकाल्यो । टोटनह्याम ११ अंकका साथ लिग तालिकाको छैटौं स्थानमा रहँदा वेष्टह्याम १० अंक बटुल्दै सातौँ स्थानमा छ ।

समान १० अंक जोडेको आर्सनल भने गोल अन्तरको आधारमा आठौँ स्थानमा छ ।

Comments

comments