काठमाडौं । दशैं,तिहार र छठ पर्वको अवसरमा नेकपा कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको चियापान समारोहमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आफैं अनुपस्थित रहनुभएको छ ।

चिकित्सकले ओलीको छातीको संक्रमण भएका कारण उहाँलाई आराम गर्न सल्लाह दिएपछि भृकुटीमण्डपमा आयोजना गरिएको चियापानमा उहाँ अनुपस्थित हुनुभयो ।

रुघाखोकीको संक्रमण देखिएपछि प्रधानमन्त्री ओली चियापान समारोहमा सहभागी हुन नसकेको प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो । तर प्रधानमन्त्री पत्नी राधिका शाक्य भने चियापान समारोहस्थल पुगेर सहभागीता जनाउनुभयो । ओली ३ बजे आउने कार्यक्रम तय भएको थियो ।

यता चियापानमा उपस्थित भएकाहरु भने नेकपाको शीर्ष नेता को को आए भन्दै खोजिरहेका थिए । कतिपयले पछिल्लो समय असन्तुष्ट देखिएका नेता माधवकुमार नेपाल आए की आएनन् भन्दै खोजी रहेका थिए । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै बसेको फोटो खिच्न खोज्नेहरु पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई नदेख्दा कानेखुसी गरिरहेका थिए ।

Comments

comments