एजेन्सी ।  इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको समूह चरणको खेलमा प्रभावशाली र महत्वपूर्ण जित निकालेको छ ।

समूह एफ अन्तर्गत अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले शाख्तर डोनेस्कलाई ३–० ले हराएको हो । शाख्तरलाई उसकै मैदानमा हराउने क्रममा म्यानचेस्टर सिटीका लागि डेविड सिल्भा, एमरिक ल्यापोर्त र बर्नार्डो सिल्भाले गोल गरे ।

पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल भएको हो । ३० औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि ल्यापोर्तको गोलबाट सिटीले पहिलो हाफमा २–० को अग्रता लियो ।

७० औँ मिनेटमा बर्नार्डो सिल्भाले गोल गरेपछि सिटी ३–० ले विजयी भयो । समूहको अर्को खेलमा लियोन र होफेनहेमले ३–३ को बराबरी खेल्दै अंक बाँडे । तीन खेलबाट ६ अंक जोडेको सिटी समूहको शीर्ष स्थानमा उक्लिएको छ । पाँच अंक रहेको लियोन दोस्रो स्थानमा छ ।

Comments

comments