मेलबर्न । सिड्नीमा रहेको एंगलिकन चर्चले आफ्ना भवनहरुमा समलिंगी विवाह, योगा र स्थानीय आदिवासीको ‘धुँवा समारोह’मा प्रतिबन्ध लगाउने तयारी गरेको छ । चर्चले मतदान मार्फत यस्तो निर्णयको टुङ्गो लगाउने तयारी गरेको छ ।

मुख्यत समलिंगी विवाह समारोहहरुलाई प्रतिबन्ध लगाउने चर्चको योजना भएपनि त्यससँगै योगलाई पनि अन्य धर्म प्रबद्र्धन गरिएको भन्दै प्रतिबन्ध गर्ने तयारी भएको हो । यस्तै अष्ट्रेलियन आदिवासीहरुको स्मोकिंग सेरेमोनीमा गाँजा लगायतका पदार्थहरुको प्रयोग हुने भएका कारण त्यसलाई पनि रोक लगाउने योजना बनाइएको बताईन्छ । एंगलिकन चर्च अन्तर्गत करिब ९ सयभन्दा बढी चर्च र समारोह भवनहरु रहेका छन् ।

यस्तो प्रावधान आउने भएपछि यसको बारेमा प्रतिक्रियाहरु पनि आउने क्रम सुरु भएको छ । केहीले यसलाई अष्ट्रेलियामा बहुसांस्कृतिक र बहुधार्मिकतामाथिको प्रहार भनेका छन् भने केही समय अघि संसदले अनुमति दिएको समलिंगी विवाहलाई मान्यता नदिने प्रक्रियाले द्वन्द्व निम्त्याउने पनि आंकलन गरिएको छ । यही निर्णयको मारमा योग पनि परेको छ । यसैसँग सम्बन्धित रहेर अन्य हिन्दू धार्मिक गतिविधिका लािग पनि हलहरु नपाउने हो कि भन्ने आशंका बढेको छ । अहिले पनि विभिन्न चर्चले बनाएका टाउन हलहरुमा कार्यक्रमहरु हुँदै आएका छन् ।

यस्ता हलहरु, सामूदायिक भवनहरु भाडामा लिनका लागि सस्तो हुने र अन्य व्यवस्थापन पनि सहज हुने नेपाली कार्यक्रमका आयोजकहरुको ठम्याई छ । यी भवनहरु नदिने भएपछि नेपाली समुदाय पनि प्रभावित हुने देखिन्छ ।

तर, एंगलिकन चर्चका अधिकारीहरुले भने यस्तो निर्णय भइनसकेको र यसका विषयमा अर्को साता हुने बैठकहरुबाट टुंगो लगाइने बताएका छन् ।

गएको ६ महिनामा अष्ट्रेलियाभर २५ सयभन्दा बढी समलिंगी विवाह आयोजना भएका छन् ।

Comments

comments