-विनोद अग्रहरी

सबैभन्दा कम खर्चमा सिड्नी पुगेको नेपाली म नै हुँला । साथी प्रमोदले पठाएको Buisness College को I-20 मद्दत र आफै Visa Apply गरेर म २ हजार डलर तिरेर ५ सय डलर साथमा बोकेर सिड्नी पुगें । दुई जना साथी मलाई लिन एयरपोर्ट आएका थिए । उनीहरुसँगै म उनीहरुको अपार्टमेन्ट Strathfield पुगें । ट्याक्सीको भाडा ३५ डलर पनि साथीहरुले नै दिए ।

३५ डलरलाई नेपाली रुपैयाँमा Convert गरेर सोच्दा म दङ्ग परें । भोलिपल्ट साथीहरुले बैंक लगेर Account खोलिदिए र ट्रेनको टिकट कसरी काट्ने भन्ने सामान्य कुराहरु सिकाईदिए ।
‘हामी अस्ट्रेलिया आउँदा यति नै साथीहरुले सिकाएका हुन् मैले पनि त्यही नै तिमिलाई सिकाए । जब आफै खोज्नुपर्छ ।’– एक जना साथीले भने । नयाँ माहौल, नयाँ ठाउँ सबै नबुझे जस्तो थियो । आफ्नो पढ्ने कलेज पुगें । कलेज हेरेर छाङाबाट खसेजस्तो भयो । कलेजको नाममा एउटा सानो घर रहेछ । एउटा Projection TV र एउटा Teacher मात्रै । विद्यार्थी सबै नेपाली र ईन्डियन । आफू पहिलो पटक राम्रैसँग ठगिएको थाहा भयो । त्यो बुढो Teacher भन्दा मैले नै राम्रोसँग पढाउन सक्छु भन्ने भान भयो ।

सुरुवाती दिनहरुमै म विहानदेखि बेलुकासम्म Job खोज्दै हिंड्थे । जुन दिन आफूसँग भएको ५ सय डलर सकियो त्यही दिन मिराण्डाको सपिङ मलको KFC मा कुकको जागिर पाएँ । Part time जबमा पनि एक सेकेण्ड खाली बस्न नपाईने । चिकेन पकाउँदा–पकाउँदा मेरो सपनामा पनि कुखुराहरुले मलाई दौडाएको देख्न थालें । घरपरिवारसँगको विछोड, पढाईको अवस्था अनि आफूलाई अस्ट्रेलिया पठाउँदा लागेको खर्च बुबाआमालाई पठाउनुपर्छ भन्ने आफ्नै मनको दबाबले म डिप्रेसनमा जान थालें । कुखुरा पकाउन त म पक्कै आएको हैन भन्ने मलाई मनमा लाग्थ्यो ।

नेपालमा मैले बीएससी पढदापढ्दै एउटा सानो केबल टीभी व्यवसाय गरेको थिएँ । त्यसको प्राविधिक जानकारी मलाई धेरै थियो । कहिले कर्मचारी नआउँदा म आफैले नै पोल–पोलमा चढेर काम गर्नुपथ्र्यो । मलाई त्यो काम कहिल्यै पनि मन पर्दैनथ्यो । त्यो ब्यबसायदेखि दिक्क लागेर आफ्नो बुबालाई म फसें मात्र भन्ने गर्थे । कसैले पोलमा चढेर काम गरेको देख्दा मलाई लाज लाग्थ्यो । मलाई के भन्छन् होला भन्ने सोच्थें । सो कामबाट दिक्क लागेर नै म अस्ट्रेलिया पुगेको थिएँ ।

आफूलाई केबल टीभीबारे धेरथोर जानकारी भएकाले सिड्नीमा केबल टीभीमा काम पाईन्छ कि भन्ने मनमा सोचें । जसको बारेमा आफूसँगै बस्ने दाईहरुसँग सल्लाह गरें– जो बिगत ८/१० बर्षदेखि सिड्नीमा काम गर्दै थिए । सबै जना मेरो कुरा सुनेर गलल्ल हाँस्दै भने– ‘भाई हामी त अहिलेसम्म जहाँको त्यहीं छौं । तिमी के नै गरौला र ?’ उनीहरुले खिसि गरे । पछि मैले बिहीबार निस्किने Sydney Herald को Job भ्याकेन्सीहरु पनि सबै हेर्न थालें । मैले यो पत्रिका नेपालमा पाएको भए म केही न केही तयारी अवश्य गरेर आउँथे भनी सोच्थें । तर सबैजना ममाथि हाँस्थे ।

एकदिन कामबाट घर फर्कंदै गर्दा बाटोमा तीन/चार वटा सेतो भ्यान र केही प्राविधिकहरुले पोलमा काम गरिरहेको देखें । बसबाट तल झरेर कुरा गर्न खोजें । संजोगले मिस्टर रोयसँग भेट भयो । रोय अप्टस भिजनमा सुपरभाईजर रहेछन् । मैले आफ्नो सबै कथा उनलाई भनें र राम्रो काम नपाए नेपाल फिर्ता जाने कुरा समेत सुनाएपछि उनले भने, ‘विनोद तिम्रो नेपालको अनुभवले यहाँ काम दिंदैन । र हाम्रो काम गर्ने तरिका नै फरक हुन्छ , मलाई केही समय देउ, म तिम्रो लागि केही न केही अवश्य गर्छु ।’ रोयले मसँग अस्ट्रेलियन ड्राईभिङ लाईसेन्स छ कि छैन भनेर पनि सोधे । मैले चाँडै नै लाईसेन्स लिने जवाफ दिंदै जसरी भएपनि काम मिलाईदिन अनुरोध गरें । उनले सही समयमा अवश्य खबर गर्छु भनेर आश्वासन दिए ।
उनको आश्वासनपछि मैले भोलिपल्टदेखि नै ड्राईभिङ स्कुलमा भर्ना भई ४० डलर प्रतिघण्टामा गाडी सिक्न सुरु गरें । नेपालमा कहिल्यै Lane नदेखेको, न त गाडी नै चलाएको ! मलाई धेरै गाह्रो भयो । गाडी सिकाउने महिला Instructor मसँग जहिल्यै पनि रिसाउँथिन् र भन्थिन्– ‘तिम्रो जस्तो लद्दु मैले मेरो २० बर्षको अनुभवमा कहिल्यै पनि देखिन’ । तर मलाई ड्राईभिङ सिक्नु नै थियो, सिकें पनि । सामान्यतया ३० घण्टामा सिकिने ड्राईभिङ कोर्स सिक्न मलाई झण्डै ९० घण्टा लाग्यो । दुई पटक ड्राईभिङको परीक्षामा फेल भएँ । दुई महिनापछि एउटा फोन आयो, जुन मिस्टर रोयको थियो । उनको आग्रह अनुसार मैले उनको कार्यालयमा गएर भेटें । ‘मैले तिम्रो Admission TAFE मा गरिदिएको छु र लाग्ने फि १६ हजार डलर पनि कम्पनिबाट तिरिदिएको छु ।’– मसँगको भेटमा रोयले भने ।

TAFE मा पढ्ने २० जनामध्ये म एक जनामात्रै नेपाली थिएँ । बाँकी सबै अस्ट्रेलियन थिए । बिहानदेखि बेलुकासम्म TAFE को पढाईबाटै मेरा दुःखका दिनहरु सुरु भए । मैले KFC को पार्ट टाईम जब छोड्नु प¥यो । मसँग अब पैसाको कुनै श्रोत थिएन । धेरै मुस्किलले मैले ३५ डलर ट्राभल पासको पैसा जगेडा गर्थें । खाना खाने पनि पैसा मसँग हुँदैनथ्यो । म भोकै विहान क्लास जान्थें । टिफिन टाईममा पनि भोकै बस्थें । मसँग महिनौंसम्म गोजीमा एक डलर पनि हुँदैनथ्यो । साँझ घर फर्किन्थें । मलाई खान र बस्न दिएबापत सबैलाई म खाना पकाउँथें । मेरो दुःख देखेर मेरो नयाँ चिनजान भएको साथीले आफूले गर्ने तीन घण्टाको Cleaning Job पनि मलाई दियो । त्यो साथीको गुण मैले जीवनपर्यन्त विर्सने छैन । त्यो Job बाट मैले आफ्नो Travel Pass ,Grocesseries को बिल र Driving Fee / Exam Fee दिन्थें ।

पढाई चल्दाचल्दै रोयको ड्राईभिङ लाईसेन्सको बारेमा फोन आउँथ्यो । हुँदैछ भन्थें । म तेस्रो पटकमा ड्राईभिङ टेस्टमा पास भएँ । TAFE को पढाई सकिने बित्तिकै मलाई आफ्नो ड्राईभिङ लाईसेन्ससहित काममा हाजिर हुनुप¥यो । मेरो तलब कम्पनिले ७ सय डलर हप्ता तोक्यो । जुन रकम त्यो बेला सामान्य फुलटाईम काम गर्नेको डबल थियो । मेरो काम अप्टस भिजनको सेतो भ्यान लिएर घरघरमा गई केवल टीभी, टेलिफोन जडान र मर्मत गर्नुपर्ने थियो । राति नै भोलिको कामको बारेमा फ्याक्सबाट जानकारी आउँथ्यो र भनेको समयमा पुग्नुपर्ने हुन्थ्यो ।

काम त मैले थालें तर मलाई जानुपर्ने Location बारे कुनै जानकारी हुँदैनथ्यो । मलाई सिड्नीको बारेमा केही पनि थाहा थिएन । अहिलेको जस्तो जीपीएस पनि थिएन । मैले ईमिग्रेसनमा मुद्दा चल्दै गरेका एक जना साथीसँग सहयोग आदान–प्रदान गर्ने सोंच बनाए । अस्ट्रेलियन कानून अनुसार ति साथीलाई मुद्दा निप्टारा नलागुन्जेल काम गर्ने अधिकार पनि थिएन । ४ सय डलर हप्ताको दिने सर्तमा मैले उनलाई सँगै गाडीमा राखें । उसले सिड्नीको Map हेर्दै मलाई बाटो बताउने गथ्र्यो । उसैको मद्दतबाट म सबै ठाउँमा पुगेर काम गर्थें । कम्पनिले मेरो बिमा ५ मिलियन डलरको गरेको थियो ।

कहिलेकाहीं घरको मान्छेले यत्रो पैसा पाउलान् भनि गाडी नै ठोक्काईदिउँ जस्तो पनि लाग्थ्यो ।

अप्टसमा काम गरेको केही महिनामा नै मबाट एउटा गल्ति भयो । एउटा माथिल्लो तल्लाको अपार्टमेन्टमा काम गर्दा फल्स सिलिङमा लागेको ढक्कन खस्यो । खसेको ढक्कन मैले निकाल्न सकेन । खैरेनीले मलाई धेरै गाली गरी । छतको गर्मी सबै मेरो कोठामा आयो भन्दै मलाई नानाथरीको गाली गर्न लागी । र उसले तुरुन्तै कम्पनिमा कम्प्लेन समेत गरी । मलाई तुरुन्तै सो ठाउँ छाडी कम्पनि पुग्ने आदेश भयो । मलाई दिईएको गाडी, युनिफर्म र चाबीहरु तुरुन्तै खोसियो । अस्ट्रेलियामा गर्नुपर्नेभन्दा गर्न नहुने कामहरु धेरै हुँदा रहेछन् । जसको जानकारी हामीलाई हुँदैन । यो पनि राम्रो काम नेपाली वा बाहिरीले नपाउने प्रमुख कारण हो । सानो गल्तिको लागि पनि कम्पनि नै जिम्मेवार हुन्छ । आफूमाथि मुद्दा नहालियोस् भनेर ठूलो रकम पीडितलाई Compensate गर्नुपर्छ । कम्पनिले सो Client लाई पनि Compensate ग¥यो ।

म फेरि बेरोजगार भएँ । अस्ट्रेलियन Government को नियमानुसार हामीले प्रयोग गर्ने गाडी, सुरक्षा उपकरण र प्रयोग गर्ने Testing Equipment को हरेक महिना जाँच गराउनुपथ्र्यो । त्यहीं मेरो भेट Telestra मा काम गर्ने Wayne gluyas सँग भएको थियो । Wayne लाई फोन गरेंं, सबै कुरा भनें । त्यहाँ पनि मेरो परिचय र मित्रतापूर्ण ब्यबहार नै काम आयो । मैले Telestra को Foxtel Join गरें । सुरुमा तलब लगभब १२ सय डलर हप्ताको पाउन थालें । गाडी र अन्य सुबिधा कम्पनिबाटै थियो ।

हामीले जहिले पनि PR ( Public Relation) बनाएर राख्नुपर्छ । निस्वार्थ मित्रता सँधै काम आउँछ । मेरो कामप्रतिको जिज्ञासा र सँधै नयाँ कुरा सिक्ने बानीले मलाई धेरै मद्दत ग¥यो । बिदेशबाट ल्याएको टीभी भिसिआरको Tunning गर्न अरुलाई नआएपछि मलाई बोलाईन्थ्यो । एक दिन म्यानेजरले मलाई ईन्टरनेट सेक्सनमा सरुवा गर्ने प्रस्ताव गर्दै भने– ‘विनोद तिमी internet Installation र Triaining काम गर्छौं भने हामी तिम्रो तलब डबल गरिदिन्छौं ।’ मलाई त्यो बेला Computer को C पनि आउँदैनथ्यो । मलाई पहिलोपटक आफ्नो Computer नसिक्ने बानीमाथि रिस उठ्यो । त्यो प्रस्ताव मैले स्वीकार्न सकिन ।

काम गर्दै जाँदा एउटा नयाँ कुरा थाहा भयो । मैले गरिरहेको काम Contract मा गर्दा झन् धेरै पैसा कमाउन सकिने रहेछ । मेरो दिमाग फेरि उतैतिर चल्यो । अब के–के चाहियो, गाडी र उपकरण आफ्नै हुनुपर्ने,Form को नाममा काम गर्नुपर्ने । म अब गाडी किन्नतिर लागें । त्यो बेला नेपालमा मोबाईल र ईन्टरनेट थिएन । मेरो कमाईको अधिकांश पैसा नेपालमा टेलिफोन गर्नमै सकिन्थ्यो । मिनेटको चार डलर । म आफ्नो श्रीमतीसँग कुरा नगरेर बस्न सक्दैनथें । मेरो मोबाईलको बिल ६/७ पानामा आउँथ्यो । गाडी किन्ने समयमा मसँग गोजीमा ४ हजार डलर मात्र थियो । एउटा डिलरमा सेतो भ्यान सेकेण्ड ह्याण्ड राम्रो कन्डिसनको मन प¥यो । जसको मूल्य थियो १२ हजार डलर । फाईनान्समा गाह्रो हुनसक्ने सम्भावनाले गर्दा डिलरले सो गाडीको मूल्य १६ हजार डलर देखायो । र मैले ८ हजार डलर तिरेको भनी बैंकबाट डिलरमा बसीबसी फाईनान्स गराईदियो ।

गाडी किनेपछि म आफ्नो काममा पुनः फर्किएँ । मैले कहाँ कुन एरियामा काम गर्नुपर्ने राति नै फ्याक्समा डिटेल्स आउँथ्यो । काम आफूले कति गर्न सक्ने हो सोही अनुसार पाईन्थ्यो । मेरो काम टेलिफोन लाईन मर्मत र Foxtel को रिकनेक्सन गर्ने थियो । एउटा काम सकेबापत ३० डलर पाईन्थ्यो । दिनमा कम्तिमा मैले १२ देखि १५ वटासम्म Complain सिध्याउँथे । मैले दुई बर्षको अवधिमा सिड्नीको अधिकांश ठाउँमा काम गरेको छु । लगभग काम नगरेको कुनै Building छैन ।

त्यसपछि मलाई नयाँ जडानको जिम्मा दिईयो । प्रत्येक जडानको ३ सय ६० डलर पाउन थालें । दिनमा कम्तिमा मैले तीन वटा त्यस्तै गाह्रो ठाउँ परेमा दुई वटा जडान गरेर भ्याउँथे । कमाईको ४७ प्रतिसत ट्याक्स काट्दा दुःख लाग्थ्यो । तर नेपालीमा जोड्दा बचेको रकम पनि ठुलै हुन्थ्यो । पैसा मेरो लागि अरु नेपालीहरुको जस्तै कहिल्यै पनि प्राथमिकतामा थिएन । मेरो जीवन राजाजस्तै चल्दैथियो । नेपाल त म आफ्नो श्रीमतीलाई भेट्न प्रत्येक महिना आउँथे । आमा–बुबा पनि अस्ती भर्खर गएको छोरा फेरि फर्केर आउँदा दङ्ग पर्नुहुन्थ्यो । एकचोटी नेपालबाट फर्कंदा मलाई Food Poisoning भयो । मैले रेस्ट नगरी काम थालें । अन्तमा काम गर्न नसकि कोठामै थला परें । एक ग्लास तातो पानी खुवाउने पनि कोही थिएन । सबै काममा व्यस्त, बोल्ने फूर्सद पनि साथीहरुलाई थिएन । सबै कामबाट फर्केर बियर पिउनमै मस्त हुन्थे । एक महिना लगातार बिरामी परेपछि साथीहरुले बोलाईदिएको एम्बुलेन्सले मलाई हस्पिटल लग्यो । म अब बाँच्दैन भन्ने मलाई भईसकेको थियो । तर हस्पिटलको राम्रो Care ले म निको भएँ । यो घटनापछि मैले सिकेको अर्को पाठ हो– सबै कुराको आश गर्नु तर साथीहरुसँग समयको आश नगर्नु । किनकि काम सबैको बाध्यता हो । बिना काम अस्ट्रेलियामा बाँच्न असम्भव छ ।

Life Fast चल्दै थियो । समय गएको थाहा नै हुँदैनथ्यो । भाग्य भन्ने केही हैन भनि मलाई अस्ट्रेलियाले सिकाईसकेको थियो । मेहेनत गरेपछि कुनै ठाउँमा पनि सफल हुन सकिन्छ भन्ने ज्ञान मैले पाईसकेको थिएँ । मेरो भिसा केही महिनामात्र बचेको थियो । बर्ष महिना जस्तो बित्ने अस्ट्रेलियामा बस्ने कि नबस्ने भन्ने कुरो आयो । आफूले प्रयोग गर्ने ३० हजार डलर बराबरको उपकरण लिएर म नेपाल फर्किएँ । आज म नेपालगन्जमा सफल ब्यबसायी छु । यहाँ पनि मेरो केवल टीभी नेटवर्क छ । ५० जना काम गर्छन् । मैले केही गर्न नसकेपनि ५० जनालाई विदेशिनबाट रोकेको छु । अस्ट्रेलिया र अजीहरु (अस्ट्रेलियन) धेरै राम्रा छन् । छलकपट उनीहरुलाई थाहा हुँदैन ।

राम्रो गर्न नसके नराम्रो नगर्ने बानी उनीहरुको साह्रै राम्रो लाग्छ । आफूभन्दा ठूलोले देखाएको बाटोमा बिना शंका काम गर्नुपर्छ भन्ने कुरा मैले त्यहींबाट सिकेको हो । अस्ट्रेलियामा धेरै संघर्ष गर्नुपर्ने कारण अस्ट्रेलियाको बारेमा ज्ञान नहुनु हो । त्यही भएर धेरैले आफ्ना दिनहरु संघर्षमै बिताईरहेका हुन्छन् । पुरानोले जे ग¥यो अरुलाई पनि त्यही नै देखिन्छ । र मैले धेरै सफल नेपालीहरु पनि देखेको छु । तर उनीहरुले त्यसको बारेमा कहिल्यै बताउँदैनन् । नेपालीहरुले अस्ट्रेलियामा राम्रो काम नपाउनुको कारण नेपालीहरुलाई राख्दा त्यहाँ जोखिम हुन्छ । अस्ट्रेलियाको शिक्षामा ५० प्रतिशत काम कसरी गर्ने र ५० प्रतिशत काम के नगर्ने भन्ने शिक्षा दिईन्छ । तर नेपालमा हामीलाई के गर्नु हुँदैन त्यसको जानकारी कहिल्यै पनि दिईदैन ।

हाल अस्ट्रेलियामा नेपालीहरुले पाईरहेको दुःख देखेर पीडाबोध हुन्छ । तीन/चार जना साथी मिलेर काम गर्ने हो भने अस्ट्रेलिया ठूलो अवसरको देश हो, जानुभन्दा अगाडि केही प्राविधिक तालिम लिएर जाने, TAFE ले विभिन्न समयमा सानो–सानो तालिमहरु दिईरहेको हुन्छ । तालिम लिएपछि लाईसेन्स बनाएर धेरै सुखको साथ बस्न सकिन्छ । अस्ट्रेलिया भाग्यको होईन, कर्मको देश हो । तुरुन्त परिणाम दिने देश हो । साथीहरु आफूमाथि अत्याचार गर्न बन्द गर्नुहोस् । तपाइँले ध्यान दिनुभयो भने सानो–सानो कुरामा प्रगति लुकेको छ, अर्थ छ ।

अस्ट्रेलियमा बस्दै आउनुभएका नेपालीहरुमध्ये अधिकांशले अवसरको पहिचान गर्न नसक्दा दुःख पाउनुपरिरहेको यथार्थ हो । पहिचान गर्न सके अवसर अस्ट्रेलियामा जस्तै नेपालमै पनि छ । जहाँ रहनुहोस् सृजनात्मक तवरले सोच्नुहोस् ताकि बढी दुःख गरेर कम आर्जन गर्ने अवस्था नआओस् । आज म नेपालमा आफ्नो परिवारसँग बस्छु । मेरो अमूल्य समय परिवारसँगै विताउँछु । ८ घण्टा सुत्छु । खुसी छु !

(लेखक अग्रहरीले सन् १९९९ देखि २००१ सम्म अस्ट्रेलियाको सिड्नीमा रहँदा गरेको अनुभव)

[email protected]

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments