काठमाडौं । विजया दशमीको दिन आज राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र पूर्वप्रधानमन्त्रीहरु कहाँ टीका लगाउनेको घुइँचो लागेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका थाप्न सितल निवासमा मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणको भीड लागेको छ ।

त्यस्तै प्रधानमन्त्री के.पी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री, सांसद, कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि सांसद, नेता तथा कार्यकर्ता र सर्वसाधारणलाई टीका लगाइरहनु भएको छ । पूर्व प्रधानमन्त्री नेपालसँग टीका लगाउनेहरु बिहान ११ बजेदेखि नै कोटेश्वरस्थित उहाँको निवास पुगेका थिए । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि बुढानिलकण्ठस्थित निवासमा नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुलाई टीका लगाइदिनुभएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालको डल्लुस्थित निवासमा पनि टीका लगाउनेहरुको भीडभाड भइरहेको छ । त्यस्तै अर्का पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई कहाँ पनि टीका लगाउन नेता तथा कार्यकर्ताहरू पुगेका छन् ।

यसैबीच टीकाको दिन आज मान्यजन र आफन्तजनको हातबाट टीका ग्रहण गर्न जानेको चहलपहल पनि बढेको छ ।

क-कसले लगाए राष्ट्रपतिको हातबाट टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले आफन्त सहित प्रधानमन्त्री, मन्त्रीहरु, उच्चपदस्त व्यक्तिदेखि सर्वसाधारणलाई टीका लगाईदिनुभएको छ ।

आमा, काका र पुरोहितहरुको हातबाट टीका तथा प्रसाद ग्रहण गरेपछि राष्ट्रपति भण्डारीले छोरी, ज्वाई, नातीनी लगायत पारिवारिक सदस्यलाई टीका दगाउनुभएको थियो ।

त्यसपछि उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभयो ।

राष्ट्रपतिको हातबाट टीका लगाउन सभामुख कृष्णबहादुर महरा, अर्थमन्त्री युवराज खतिवडा लगायत राष्ट्रपति निवास पुग्नुभएको थियो ।

Comments

comments