काठमाडौं । विभिन्न दलका शीर्ष नेता र मन्त्रीहरु काठमाडौँमा नै दशैँ मनाउने तयारीमा देखिएका छन् । सर्वसाधारण जनता आ आफ्नो गृह जिल्ला पुगेर दशैँ मनाइरहँदा अधिकांश शीर्ष नेता र मन्त्रीहरु भने राजधानीमै दशैं मनाइरहेका छन् ।

दशैंमा लामो विदा हुने र पारिवारिक मिलनको पर्व समेत भएकोले अधिकांश सर्वसाधारण जनता मिलेसम्म आफ्नै गाउँठाउमा पुगेर दशैं मनाउन चाहन्छन् । यसपटकको दशैंमा पनि झण्डै २४ लाख सर्वसाधारण काठमाडौंबाट बाहिरिएको अनुमान छ । त्यसैले जनप्रतिनिधिका रुपमा रहेका नेताहरुकालागि आफ्ना मतदाता जनता वा कार्यकर्तासँग भेटघाट गर्न पाउने सबैभन्दा उपर्युक्त समय दशैं नै हो । तर विभिन्न् राजनीतिक दलका शीषस्र्थ नेता तथा मन्त्रीहरूले भने यसपटकको दशैं राजधानी काठमाडौंमा नै मनाउने भएका छन् । सत्तारूढ दलका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा नै दशैँ मनाउने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा र अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा दशैँ मनाउने कार्यक्रम रहेको छ । अध्यक्षद्वयले दशैँको समयमा पार्टीको सांगठनिक एकता प्रक्रियाबारे गृहकार्य गरेर टुंगो लगाउने तय भएको छ । दशैँको समयभित्र नै आन्तरिक गृहकार्य गरी जिल्लादेखि विभिन्न जनसंगठनको एकता खाकासहित कात्तिक ४ गते बस्ने सचिवालयको बैठकमा पेस गराउने गरी गृहकार्य भएको सचिवालयले बताएको छ । प्रधानमन्त्री ओलीले कात्तिक २ गते प्रधानमन्त्री निवास बालुवाटारमा दशैँ मनाउने कार्यक्रम छ । टीकाका दिन बालुवाटारमै रहने र परिवार तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रम तय भएको छ ।

त्यस्तै पूर्वप्रधामन्त्री तथा नेकपाका अर्का अध्यक्ष प्रचण्डको पुत्रशोकका कारण यसपालि दशैँ छैन । उहाँले काठमाडौंमै पारिवारिक तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा दशैँ मनाउने कार्यक्रम रहेको छ । काठमाडौंबाहिर कार्यक्रम नरहेकाले देउवाले घरमै आफन्त तथा कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम तय भएको छ ।

त्यस्तै नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पनि दशैँ काठमाडौंमा नै मनाउदैँ हुनुहुन्छ । त्यस्तै, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई दशैँका बेला पारिवारिक भेटघाटका साथै अन्य छलफलमा सहभागी हुने कार्यक्रम छ ।

उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि काठमाडौंमा नै दशैँ मनाउने निर्णय गर्नुभएको छ ।

Please follow and like us:

Comments