एचके संवाददाता/ मेलबर्न । काठमाडौं कलंकी घर भएका राजु थापा (नाम परिवर्तन ) विगत ६ वर्षदेखि अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका छन् । शुरुमा अध्ययन भिसामा आएका उनले अष्ट्रेलियाको नागरिकता लिन झण्डै दुई वर्ष अघिदेखि कोशिस गर्दै आएका छन् । सिटिजनसीप लिनकालागि आवश्यक सबै प्रक्रिया र कागजात समेत उनले मिलाइसकेका थिए । तर ६ महिना अघि सिटिजनसीपकालागि उनले दिएको निवदेन यहाँको अद्यागमन विभागले अस्वीकार गरिदियो । सबै प्रक्रिया र कागजात पुर्याएर पनि सिटिजनसीप नपाएपछि थापाले कानूनविदको परामर्शमा पुनः अपिल गरे । तर यसपटक पनि उनलाई अष्ट्रेलियाको सिटिजनसीप दिन नसक्ने जवाफ विभागले दियो । यसपटक विभागले थापालाई सिटिजनसीप दिन नसक्नुको कारण समेत खोलिदियो ।

विभागले दिएको जवाफमा थापाले पटक पटक गरेको ट्राफिक नियम उल्लंघन अर्थात अवज्ञा उनलाई सिटिजनसीप दिन नसक्नुको मूख्य कारण रहेछ । डिसेम्वर २०१४ देखि मार्च २०१७ सम्मको उनको ड्राइभिङ हिष्ट्री रेकर्डमा थापाले पटक पटक ट्राफिक नियम उल्लंघन गरेको पाईयो । जसमा ट्राफिक बत्तीलाई अवज्ञा गरेको,बढी गतिमा गाडी चलाएको लगायतका ट्राफिक नियम उल्लंघनका घट्नाहरु रहेका छन् । रेकर्ड अनुसार २०१४ मा स्थानीय अदालतले थापालाई ५०० डलर जरिवानासहित तीन महिनाकालागि उनको ड्राइभिङ लाइसेन्स खारेज गरिदिएको थियो । उक्त घटनालाई लुकाउने उदेश्यले थापाले सिटिजनसीप निवेदनमा खुलाएका थिएनन् । त्यसैलाई मूख्य आधार बनाएर थापाको सिटिजनसीप निवेदनको अपील खारेज गरिदिएको कोर्टको जवाफमा उल्लेख छ । थापाको यो नियत असल चरित्र विपरित रहेको अदालतको तर्क छ ।

अष्ट्रेलियाका कानूनका जानकारहरु भन्दछन्–सामान्य जस्तो लाग्ने ट्राफिक नियम उल्लंघनका घट्नाले कतिखेर अप्ठ्यारोमा पारिदिन्छ,भन्न सकिन्न । किनभने अष्ट्रेलियामा ट्राफिक नियमको कुनै किसिमको उल्लंघन कानुनविपरित मात्र होइन ठूलो अपराध मानिन्छ । यसमा विशेषतः ट्राफिक नियम उल्लंघनको संख्या,त्यसबाट भएको मृत्यु,घाइते वा कुनै हानीलाई आधार बनाइन्छ ।

ट्राफिक नियम उल्लंघन वा दुर्घटना हुदै हुँदैन भन्ने होइन । तर उल्लंघन वा दुर्घटना भैसकेपछि उसले गर्ने व्यवहार र देखाउने तत्परतालाई पनि अष्ट्रेलियामा व्यक्तिको चरित्र मापनको आधारका रुपमा लिइन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments