काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीका सबै पदाधिकारी निर्वाचनबाट चयन गर्न माग गरेको छ । विधान संशोधनको विषयमा छलफल गर्न महाराजगन्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा सोमबार बसेको बैठकले केन्द्रीय कार्यसमितिको आकार अहिलेको भन्दा ठूलो हुन नहुने र सबै पदाधिकारीको निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

पौडेल पक्ष १४ औं महाधिवेशनबाट लागू हुनेगरी पदाधिकारी संख्या बढाउन सकारात्मक देखिए पनि सभापति शेरबहादुर देउवाले महासमिति बैठकलगत्तै बढाइएको स्थान पूर्ति गर्न सक्ने संशयमा छ । ‘महासमितिबाट विधानको मस्यौदा पारित हुनासाथ पदाधिकारी राख्न पाउने या १४ औं महाधिवेशनबाट लागू गर्नुपर्ने भन्नेमा संस्थापन र पौडेल पक्षबीच विवाद बढ्ने देखिन्छ,’ स्रोतले भन्यो, ‘यसमा सहमति जुटेपछि मात्रै कति पदाधिकारी राख्ने भन्ने निर्क्यौल हुन्छ ।’

महाधिवेशनअघि नै कार्यान्वयन गर्न पाए सभापति देउवा पदाधिकारीको संख्या पौडेल पक्षले भनेजस्तै बढाउन तयार छन् । १४ औं महाधिवेशनबाट मात्रै लागू हुने गरी बढाउने सर्तमा देउवा इच्छुक छैनन् । पहिल्यै कार्यान्वयनमा लैजान पाए आफ्नो गुटको व्यवस्थापन हुने र महाधिवेशनमा सकारात्मक माहोल खडा गर्न सकिने देउवाको बुझाइ छ । पौडेल पक्षको पनि १४ औं महाधिवेशनमा धेरै आकांक्षीको व्यवस्थापन गर्न सकिने स्वार्थ छ । त्यतिबेला देउवालाई भन्दा नेता व्यवस्थापनको समस्या पौडेल पक्षलाई पर्ने देखिन्छ ।

विधान मस्यौदा समितिमा पदाधिकारीको संख्या ९ पुर्‍याउनेबारे छलफल भइरहेको छ । सभापति, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ३ र कोषाध्यक्ष १ को प्रस्ताव आएको छ । तर, पौडेल पक्ष उपसभापतिको संख्या ३ सम्म पुर्‍याउन इच्छुक छ । यसो गर्दा महाधिवेशनमा सभापतिका आकांक्षीको व्यवस्थापनमा सहज हुने पौडेल पक्षको बुझाइ छ । पौडेल पक्षको भेलाले केन्द्रीय कार्यसमितिको आकार अहिले भएको ८५ सदस्यीयभन्दा बढाउन नहुने निष्कर्ष निकालेको छ । भेलामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला अनुपस्थित थिए । उनी बिहानै झापा गएका कारण अनुपस्थित भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए ।

विधान मस्यौदा समिति भने १ सय ३ देखि १ सय २३ भन्दा नबढ्ने गरी केन्द्रीय कार्यसमितिको आकार बढाउने निष्कर्षमा पुगेको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments