काठमाडौं । केही वर्ष यता नेपाली चलचित्रमा पनि कमेडी अनिवार्य जस्तै भएको छ । गम्भीर र प्रयोगात्मक चलचित्र भन्दा कमेडी मसलायुक्त हल्कफुल्क चलचित्रहरु हेर्ने दर्शकहरुको जमात बाक्लो हुने भएपछि धेरै निर्माताहरुले कमेडी चलचित्र निर्माणमै जोड दिन थालेका छन् । टलक भर्सेस टुल्के,पशुपति प्रसाद जस्ता चलचित्रहरु खेलिसकेका अभिनेता खगेन्द्र लामिछाने पनि कमेडी चलचित्रमा देखिदैछन् ।

विगतका चलचित्रमा गम्भीर भूमिका निर्वाह गर्दै आएका अभिनेता खगेन्द्र लामिछाने यही फुलपातीका दिन रिलिज हुने चलचित्र जय भोलेमा हास्यप्रधान भूमिकामा देखिन लागेका हुन् । आफ्नै लेखनमा तयार गरिएको चलचित्र जय भोलेमा उनी कमेडियन भूमिकामा देखिदैछन् । चलचित्रमा ‘सुनको सिक्री लगाएर हुलदंगा गर्दै हिड्ने जय डनको भूमिकामा उनी देखिदैछन् । आफ्नो रुची नहुँदा नहुदै पनि निर्देशक अशोक शर्माले कन्भिन्स गराएपछि आफू जय डनको रूपमा आएको खगेन्द्रले बताए । चलचित्रमा समावेश खगेन्द्र र स्वस्तिमा खड्काको एउटा सम्वाद अहिले सामाजिक सञ्जाल र म्यूजिकल्लीमा निकै पपुलर भएको छ ।

फुलपातीका दिनदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउने चलचित्र जय भोलेमा साथीसाथीबीचको सम्बन्धको कथा उठान गरिएको अभिनेता खगेन्द्रले बताए, ‘दुई साथीबीचको सम्बन्ध उतार चढावको कथामा यो चलचित्र केन्द्रित छ । यसअघि पश्चिमेली युवाको भूमिका गर्दै आएका खगेन्द्रले यसपटक भने पूर्व झापाको युवकको भूमिका निभएका छन् । चलचित्रमा उनले पूर्वकै लवाज बोलेको छन् । लवज सिक्नकैलागि आफूले केही महिना अभ्याससमेत गरेको खगेन्द्रले बताए ।

जय भोलेमा हास्य प्रधान भूमिकालाई आफूले चुनौतीको रूपमा स्वीकारेको बताउदै यसपटक केही फरक शैलीको हास्यप्रधान भूमिका निर्वाह गरेको बताए । हास्यप्रधान भए पनि आफ्नो भूमिका त्यत्तिकै गहन र जिम्मेवार भएको पनि उनले बताए ।

यो चलचित्रमा खगेन्द्रको साथीको भूमिकामा सौगात मल्ल, प्रेमिकाको भूमिकामा स्वस्तिमा खड्का र मितको भूमिकामा बुद्धि तामाङ रहेका छन् ।

Please follow and like us:

Comments