काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले दुई वर्षभित्र नेपालमा १ करोड एलईडी लाइट वितरण गर्ने भएको छ ।

तीन सय मेगावाटको विद्युत् बचत गर्ने उद्देश्यसहित एनआरएनले १ करोड एलईडी वितरण गर्ने भएको हो । एनआरएनएले आइतबार काठमाडौंमा आयोजना गरेको पहिलो एनआरएन अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन अन्तर्गतको दिगो ऊर्जा विषयक सत्रमा एनआरएनए ‘उज्यालो नेपाल’ अभियानका संयोजक डा बद्री केसीले दुई वर्षभित्र सरकारसँगको सहकार्यमा १ करोड एलईडी वितरण गर्न लागेको जानकारी दिए ।

लाइट वितरणपश्चात मुलुकमा ३ सय मेगावाट विद्युत् बचत हुने र अहिलेको परम्परागत ४० वाट लाइट बराबरको विद्युतको क्षमता १० वाटको एलईडीबाटै हुने भएकोले यसबबाट उल्लेख्य फाइदा पुग्ने संयोजक केसीले जानकारी दिए । स्थानीय शिक्षक र आमा समूहको सहभागितामा एलईडी लाइटको प्रयोगको जनचेतना जगाउने बताउँदै कृषि, उद्योग, विकासका साथै अन्य पूर्वाधार विकासका लागि विद्युत्को खपत बढाउन सकिने बताए ।

कार्यक्रमका एसियन इष्टिच्युट अफ टेक्नोलोजीका डा राममनोहर श्रेष्ठले नेपालमा ऊर्जाको स्रोत, प्रयोग तथा खरिदमा विविधता ल्याउनुपर्ने बताए । उनले छिमेकी मुलुक भारतबाट मात्रै ऊर्जाको खरिद गर्दा नेपालले विभिन्न समयमा अप्ठेरो परिस्थितिको सामना गर्नुपरेको बताए ।

कार्यक्रममा सहभागी एनआरएनएका प्रतिनिधिहरूले जलविद्युत्मा लगानी गर्नका लागि झन्झट रहेको र लगानी गर्नका लागि घुस खुवाउनुपर्ने अवस्था रहेको बताउँदै यसका लागि सहज तरिकाले लगानी गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

Comments

comments