काठमाडौं । उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोङ उन सन् २०१८ मा हेडलाइनमा छाए । आणविक युद्धको धम्की दिने र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग शाब्दिक लडाईंमा समेत चर्चा पाएक उन शान्ति सम्झौता गरेर प्रसिद्ध बने । प्रत्येकपटक उन समाचार बन्दा दुईजना अनपेक्षित लाभार्थीको फोन बज्ने गर्छ ।

हङकङमा बस्ने राजनीतिक व्यंग्यकार हावर्ड एक्स र सउलमा बस्ने मिनयोङ किम आफूहरूलाई किम जोङ–उनका रूपधारी संघका दुईजना मात्र सदस्य मान्छन् । विगत ६ वर्षदेखि यी दुईजनाले उत्तर कोरियाली नेतासँग अनुहार मिलेका कारण पैसा कमाइरहेका छन् । उनीहरू दिनको १५ लाख रुपैयाँभन्दा बढी कमाइरहेका छन् । भिडियो गेममा खेल्न, शपिङ मलको उद्घाटन गर्न र अर्बपतिहरूका जन्मदिनका पार्टीमा पाहुनाको मनोरञ्जनका लागि उनीहरू पुग्ने गरेका छन् ।

‘किम जोङ उनले क्षेप्यास्त्र प्रहार गर्दा वा ट्रम्पलाई खुस्केट बूढो भन्दा मेरो फोनमा जागिरको अफर आउँछ,’ हावर्ड भन्छन्, ‘अफर जहिले पनि अन्तिम समयमा आउँछ, कहिलेकाहीँ २४ घण्टाको म्यादमा आउँछ । अनि जे पनि गर्नुपर्ने हुन्छ ।’ मिनयोङ केन्टकी फ्राइड चिकनको नयाँ विज्ञापनको शुटिङका लागि सम्झौता गरिरहेका छन् भने हावर्डलाई हालै मकाउमा एउटा समारोहमा ट्रम्प र पुटिनको नक्कल गर्ने कलाकारसँग देखिने गरी नियुक्त गरिएको छ ।

किम जोङ उन सन् २०११ को डिसेम्बरमा सत्तामा आउँदा मिनयोङ दक्षिण कोरियामा सैन्य सेवामा थिए । सैन्य सेवा सकेपछि उनले उत्तर कोरियाली नेतासँगको सारूप्यलाई अँगाल्ने निर्णय गरे । हालोवीनमा उनले स्थानीय हजामलाई किम जोङ उनको जस्तो गरी कपाल कटाउन लगाए, एउटा सस्तो कालो सुट किने अनि सउलको होङदाए जिल्लातिर गए । त्यहाँ उनको भव्य स्वागत भयो ।

हावर्ड पनि यसैगरी रातारात प्रसिद्ध भएका हुन् । उनले आफूलाई किम जस्तो देखाएर फेसबुकमा अप्रिल फूलको दिनमा तस्बिर राखे । ती तस्बिर भाइरल भए र उनको करियर शुरूवात भयो तर उनलाई सही रूपमा कपाल
कटाउन संघर्ष गर्नुपरेको थियो ।

यी दुई कलाकारहरूको शैली पूरै फरक छ । मिनयोङले किशोर अवस्थामा अभिनेता बन्ने सपना देखेका थिए र पछि अर्थशास्त्रमा स्नातकोत्तर गरे । उनले किमको बोल्ने शैली र हाउभाउ दुरुस्त उतार्ने गरेका छन् । हावर्ड चाहिँ अस्ट्रेलियामा हुर्केका हुन् र कोरियाली भाषा बोल्दैनन् । उनी लाज नमानी उत्तेजक कुरा गर्छन् । उनले सिंगापुरमा दर्शकहरूलाई स्तब्ध बनाउँदै सोध्छन्, ‘कुन तानाशाह राम्रो देखिन्छः म कि तिमीहरूको प्रधानमन्त्री ?’ बिबिसीबाट

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments