– कामना न्यौपाने

‘दशैँ आयो , खाउँला पिउँला
कहाँबाट ल्याउँला,
चोरी ल्याउँला,
धत् पापी म त छुट्टै बसुँला !!

मुसुमुसु हाँस्दै, अलिकति लजाउँदै , कक्षाभरका साथीअगाडि, सरको आदेशमा गरेको त्यो अभिनयपछि दशैँ बिदामा रमाउने दिन आउँथे । हाम्रो गाउँमा तीजमा मात्र नयाँ लुगा किन्ने चलन थियो, तर पछि दिदीहरुले काठमाडौंमा जागिर गर्न थालेपछि मेरो लागि दशैँमा नयाँ लुगा आउन थाले । सायद परिवारको कान्छो सदस्य हुनुको फाइदा हो यो । फेरि, काठमाडौंबाट लगिदिएकोले गाउँका अरु साथीले लगाउने लुगा भन्दा अलि फरक, त्यसैले खुशी पनि बढी । त्यसैले दशैँ बिदा शुरु भएपछि म दिदीहरुसँगै आउने मेरो नयाँ लुगा पर्खेर बस्थेँ । कुन दिन आउँछन् भनेर दिन गन्न शुरु हुन्थ्यो ।

घटस्थापनाका दिनदेखि चहलपहल शुरु हुन्थ्यो । लाहुरबाट आउने लाहुरेहरुले टेप रेकर्डर बजाउँदै झरेका हुन्थे। दिनभरि किनमेल गर्न निस्किनेहरुको चहलपहल, राति र बिहानमा चार बजेदेखि नै दशैँमा देश तथा विदेशबाट फर्किइरहेका मानिसको खासखुस र हिँडाइँको आवाज । त्यतिबेला काठमाडौंबाट रात्रिबस मात्र जान्थ्यो । बाटोमा पर्ने घर, अनि मामा, सानिमा, दिदी, दाइ सबैका साथीलाई माया गर्ने आमा । कोही आमालाई बोलाउँदै झर्थे, कोही घरमै आउँथे र उज्यालो भएपछि मात्र बाटो लाग्थे । घरमा काठमाडौंमा बसेका, बुटवलमा बसेका, लाहुरमा बसेका मान्छे आउँदा खुशी लाग्थ्यो । काठमाडौंबाट गएकाले ‘यस्तो है’ भनेर बोलेको सुन्दा मलाइ रमाइलो लाग्थ्यो । हाम्रो गाउँमा है भन्दैनन्, (हन्त) (होइन त) (होनाइ) (हो कि नाइँ) जस्ता शब्द प्रयोग गरिन्छ । तर ू यिनी त ठूली भइछिन् है ! हाम्ले यहाँ पढ्दा तिमीलाई खेलाउँथिम्’ भन्ने वाक्य सुन्दा भने लुक्न मन लाग्थ्यो । धेरै नबोल्ने बानी भएकाले, सायद त्यसको जवाफ दिन जान्दिन थिएँ । त्यसैले लुक्न सजिलो लाग्यो होला । आउने जतिले त्यही भनेपछि, फेरि कति सुन्नु भन्ने पनि हुन्थ्यो होला ।

दिदी घर पुग्दा पनि म एकछिन लुक्थेँ, तर झोलामा मेरो लागि के छ भनेर हेर्न । दिदीका झोलाबाट बासना आइरहेको हुन्थ्यो, स्याउको बासना। त्यतिबेला गाउँमा स्याउ नपाइने हुनाले स्याउको बासना नै विशेष लाग्थ्यो । मलाइ घर नै मग्मगाए झैँ लाग्थ्यो । साँच्चै नै, त्यतिबेला दशैँ बासनादार लाग्थ्यो, भर्खर सम्याएको बाटोको ताजा माटोको बासना, घर लिपपोत गरिरहेको गेरु, कमेरो र गोबरमाटोको बासना, दुर्गा पूजाको धुपको बासना, आमाले प्रसादका लागि बनाएको सेलरोटीको बासना, नयाँ लुगाको बासना, पैसाको नयाँ नोटको बासना, यतिसम्म कि इनामेलको बासना पनि दशैँको सुगन्ध जस्तो लाग्थ्यो ।

‘ओए ! तिम्रो पैसा कति जम्मा भयो ?’ हाम्रोतिर दशैँको मुख्य दिन मात्र टीका लगाउने चलन छ । त्यसैले दशैँको अर्को दिन भनेको, दक्षिणा गन्ने दिन । तर दक्षिणा गन्ने दिन कहिल्यै पनि मेरो कति पैसा जम्मा भयो भनेर साथीलाई यकिन बताउन सकिनँ । मसँग दशैँमा टीका लगाएर पाएको दक्षिणा हुँदैनथ्यो । दशैँ होस् या अरु दिन, मलाई कसैले दक्षिणा या यत्तिकै दिएको एक रुपैयाँ पनि मैले सिधै आमालाई दिन्थेँ । मैले मात्र होइन दिदीहरु र दाइले पनि आमालाई नै दिनुहुन्थ्यो । हामीलाई यो बानी आमाले नै बसालिदिनुभएको थियो । आमाले व्यक्तिगत धन या पेवा भनेर न त आफूले कहिल्यै राख्नुभयो न त हामीलाई नै राख्न सिकाउनुभयो । दशैँमा आएको दक्षिणा पनि त्यही दशैँ खर्च, त्यही घर व्यवहारमै मिल्थ्यो । हामीले कहिल्यै पनि आमासँग हाम्रो दक्षिणाको हिसाबकिताब खोजेनौँ ।

सबैका आआफ्ना दृष्टिकोण हुन्छन्, मेरो विचारमा आमाले बसालिदिनुभएको त्यही दक्षिणा दिने बानीले नै हामीले ‘मेरो’ नभनेर ‘हाम्रो’ भन्न सिक्यौँ । त्यो सिकाइ जागिरपछिको कमाइसम्ममा कायम रह्यो र अहिले पनि छ, सधैँ जीवित हुनेछ । त्यो सिकाइले गर्दा हामीले घरप्रतिको हाम्रो जिम्मेवारी बुझ्यौँ । घर व्यवहार भनेको के हो भन्ने कुरासँग केही मात्रामा भए पनि परिचित बन्यौँ । परिवारको महत्व बुझ्यौँ । आत्मनिर्भर बन्नुपर्छ र मिलेर अगाडि बढ्नुपर्छ भन्ने सिक्यौँ ।

पर्वहरुले सधैँ रमाइलो मात्र दिँदैनन्, कहिलेकहीँ सिकाउँछन् त कहिलेकहीँ मन अमिलो बनाइदिन्छन् । पुस्तक ‘ऋग्वैदिक नारी चरित्र’मा रहेको ‘दुर्गा देवी’ अति प्राचीन मातृका अध्यायमा (पेज नंम्बर ४९) मा लेखक मदनमणि दीक्षितले उल्लेख गर्नुभएको छ, ‘पूजामा रगतको त्यो समावेशलाई नारीको प्रजनन शक्ति र त्यसको पूर्व शक्ति नारीद्वारा ऋतु दर्शनसित जोडेर हेर्ने पक्षमा आधुनिक शोधकर्ताहरु छन् । यसै कारणले केही ठाउँमा अझै पनि कृषिका चरणमा र खेतमा समेत पशु बली दिने चलन पाइन्छ । प्राचीन रैथाने दुर्गा पूजालाई कालान्तरमा हिन्दूकरण गर्दै लग्दा बली, मांसको उपयोग गरिने आराधनाको ‘सात्विकिकरण’ गर्न थालिएर त्यससित उपबास, जय, नैवेध्य, तथा व्रतहरु जोडिए, बलीको रगतको सट्टा सिन्दुरको रातोले मातृशक्तिलाई सन्तुष्ट राख्न खोजियो ।’ र, त्यही दुर्गा पूजाको समापन अर्थात विजयको दिन, विजया दशमीका दिनमा हाम्री मातृ अर्थात आमाको निधारमा सेतो अक्षता टाँसियो ।

मलाई हाम्रो बाबाले धर्ती छोड्दाका दिनभन्दा त्यसपछिको पहिलो दशैँमा आमाको निधारमा सेता अक्षता देख्दा बढी नराम्रो लाग्यो । मैले ती अक्षतामा बाबाको जीवनको अन्तिम क्षणको दृश्य देखेँ, हामी सबैका दुःखी अनुहार देखेँ, आमाको घाम नलागेको मन देखेँ । मलाई लाग्यो, हरेक वर्ष यसै गरि घाउ बल्झिनेछ, यसै गरि दशैं रंगहीन हुनेछ। यो दशैँ भन्ने पर्व अब कहिल्यै नआओस् ।

सेतो रंग एउटा निश्चल रंग । मलाई सबैभन्दा बढी मन पर्ने रंग । तर जब रंगहीन देखाउन सेतो रंगको प्रयोग हुन्छ, तब दिमाग, मन र जीवन सबै फिका लाग्दा रहेछन् । महँगो पर्व दशैँको आर्थिक भार र चटारोको पर्व दशैँको घरभित्रको व्यावहारिक भार, दुवैले थिचिएकी आमालाई त्यो रंगहीन दशैँले अझ कति थिचिरहेको थियो होला । तर पनि हाम्रा अगाडि मुस्कुराउनुहुन्थ्यो, हतारहतार टीका थापेर पाहुनाको स्वागत गर्न घरतिर दौडिनुहुन्थ्यो आमा । लुकाएर पो, ती पाइला कति गह्रौँ हुन्थे होलान् ।

परिवर्तन एकैपटक हुन असम्भव छ, पुरानो पुस्ताले परिवर्तन सहर्ष स्वीकार्न सक्दैन भन्ने हामीले मान्यता राख्छौँ । तर, विस्तारै हाम्रो परिवारमा परिवर्तन आयो र, त्यो पनि, परिवारकै सबैभन्दा जेष्ठ सदस्यबाट । साठी वर्ष उमेर काट्नुभएका ठुलोबुबा र ठूलीआमाले आमालाई राता अक्षता लगाइदिन थाल्नुभयो । दशैँका दिनमा अब आमा अरु भन्दा फरक देखिन छोड्नुभयो । आमाको लागि कुनै पनि रंग अब बर्जित रहेन । साँच्चै, परिवर्तनको सुरुवात आफूबाट हुनु जरुरी छ, परिवारबाट हुनु जरुरी छ, अनि पो समाजसम्म पुग्छ । हामी आफू र परिवार छोडेर पहिल्यै समाजको परिवर्तन गर्ने अभियानमा लाग्छौँ । जे होस्, मलाइ अब दशैँ पर्वसँग गुनासो रहेन । मात्र यत्ति लाग्छ, सबैजनाले सँगै मनाउन पाए !

यो चाहना अधुरो भए पनि, आशालाई जीवित राख्दै, केही आत्मीय मन भेट्न, भर्खर सम्याएको बाटोमा पाइला राख्न, घर पोत्ने माटोका छिटाले आफ्नो लुगा रंगाउन दशैँमा गाउँ जाने चाहनाले यो वर्ष पनि छोड्न सकेन । गाउँको माया र अनगिन्ति यादले बिहान अँध्यारोमै तीन बजे उठाए र गाउँ जाने टिकट लिन लाइनमा बस्न जान आदेश दिए । आदेश पालनापछि जीत पनि हासिल गरियो । दशैँका लागि आफूले चाहेको दिनको टिकट भनेको त्यो वर्षको एउटा सानोतिनो जीत नै त हो ।

विजयादशमीको सम्पूर्णमा शुभकामना !

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments