एजेन्सी । अमेरिकाको फ्लोरिडामा अहिलेसम्मकै शक्तिशाली आँधी आएको छ । माइकल आँधीका कारण फ्लोरिडाको उत्तर–पश्चिमी क्षेत्रमा रहेकी समूद्र किनार वा नजिकका बस्तीमा ठूलो बाढी आएको छ । बाढीका कारण घरहरु डुबेका छन् भने तीव्र गतिको हुरीका कारण रुखहरु जरैदेखि ढालेका छन् ।

अहिले क्याटेगोरी थ्री मा झरेको आँधीका कारण २०० किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको छ । यस्तै पहिरो पनि गएको छ । आँधी अलाबामा र जर्जिया पुग्ने बेलासम्म पनि शक्तिशाली नै रहने जनाइएको छ । माइकल आँधी तीव्र गतिमा शक्तिशाली बनेको हो ।

मंगलबारसम्म यो क्याटेगोरी टू को आँधी थियो । बुधबार बिहान बोर्डर लाइन क्याटेगोरी फाइभ भएको थियो ।

फ्लोरिडाका गभर्नर रिक स्कटले कल्पना नै नगरिएको क्षति भएको चेतावनी दिएका छन् र यो सम्भवतः १०० वर्ष यताकै शक्तिशाली आँधी रहेको बताएका छन् ।

माइकल आँधीका कारण मध्य अमेरिकामा कम्तिमा १३ जनाको ज्यान गएको छ । जसमा होण्डुरसमा ६, निकारागुवामा चार तथा एल साल्भाडोरमा तीनजना रहेको बिबिसीले उल्लेख गरेको छ ।

एबिसी न्युजका अनुसार अमेरिकामा अहिलेसम्म एकजनाको ज्यान गएको छ । आँधीका कारण ढलेको रुखले घर च्याप्दा फ्लोरिडामा एक पुरुष व्यक्तिको ज्यान गएको हो ।

फ्लोरिडाका तीन लाख ७० हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । तर धेरै अस्वीकार गरेका छन् ।

Comments

comments