सोल,दक्षिण कोरिया । विश्वको स्थायी शान्तिकालागि शान्ति संस्कृति भन्ने नारासहित दक्षिण कोरियामा आयोजित चौथो विश्व शान्ति सम्मेलन सम्पन्न भएको छ । सेप्टेम्वर १७ देखि शुरु भएको तीनदिने सम्मेलन अन्तर्गत १७ तारिखमा भव्य शान्ति महोत्सव आयोजना गरिएको थियो ।

सोलमा अवस्थित ओलम्पिक रंगशालामा आयोजित शान्ति महोत्सवमा विभिन्न आकर्षक झाँकीहरु प्रदर्शन गरियो । सो अवसरमा नेपाल सहित संयुक्त राष्ट्र संघमा आवद्द सबै सदस्य राष्ट्रहरुको झण्डासहितको परेड प्रदर्शन गरिएको थियो ।

महोत्सवलाई विभिन्न धर्मका धर्म गुरुहरु र विभिन्न देशका उच्च पदस्थ नेताहरुले सम्बोधन गरेका थिए । त्यसक्रममा वक्ताहरुले संयुक्त राष्ट्र संघीय घोषणापत्रको पूर्ण कार्यान्वयनपछि मात्र विश्व शान्तिको सपनाले पूर्णता पाउने बताए । र,राष्ट्र संघीय घोषणापत्रको पूर्ण कार्यान्वयन गराउन विश्व शान्ति सम्मेलनले सबै सदस्य राष्ट्रहरुलाई नैतिक दबाब भएको उनीहरुको भनाइ थियो ।

विश्व शान्ति अभियानका प्रमुख एवम् आयोजक एचडब्लुपीएलका अध्यक्ष मान ही लीले विश्वका धेरै शान्तिप्रेमी अभियान्तको सहयोगले शान्ति अभियान साकार हुँदै गएकोमा सन्तुष्टि व्यक्त गरे । शान्तिको कुनै देश,सीमाना,रंग र धर्म नहुने जिकिर गर्दै अध्यक्ष लीले शान्तिको अघि जुनसुकै तानाशाह पनि झुक्नुपर्ने बताए । शान्तिप्रतिको चाहना र विश्वासका कारण कोरियाली प्रायद्धीपमा शान्तिको आशा बलियो बन्दै गएकोमा उनले प्रसन्नता व्यक्त गरे ।

Comments

comments