काठमाडौं । नेपाली समाजमा सर्वाधिक महत्वका साथ मनाइने महान् पर्व बडा दशैँको प्रथम दिन आश्विनशुक्लप्रतिपदादेखि घरघरमा घटस्थापना गरी भगवती दुर्गा भवानीको पूजाआजा आरम्भ गरिन्छ । नवरात्रको यस अवधिमा आदिमाता आद्यशक्ति महामाया देवी भगवतीका विभिन्न रुपको प्रतिदिन विधिपूर्वक पूजा गरिन्छ । नवरात्रका प्रत्येक दिन देवीका अवतारको फरकफरक विधिले पूजा गरी शक्ति जगाई आफूले अभीष्ट सिद्धि प्राप्त गर्ने प्रयास गरिन्छ ।

नवरात्रको पहिलो दिन आदिशक्ति भगवतीको प्रथम रुप माता शैलपुत्रीको पूजाआजा गरिन्छ । हिमालय पर्वतकी छोरीका रुपमा प्रादुर्भाव देवी शैलपुत्रीको पूजा गर्नाले माता प्रकृति प्रसन्न भई शक्ति, अन्नसमृद्धि र सुखशान्ति प्राप्त हुने शास्त्रहरुमा उल्लेख छ । माता शैलपुत्रीको पूजाआजाका लागि भक्तजनहरु बिहानैदेखि मुलुकका विभिन्न देवीमन्दिरहरुमा भेला हुन्छन् । भगवती शैलीपुत्री हिमालय पर्वतकी छोरी भएकीले उनलाई पार्वती हेमावती, प्रकृति पनि भन्ने गरिन्छ । शैलपुत्री सबै देवीकी पनि आदिदेवी प्रारम्भा हुन् । आदिशक्ति हुन् । उनैबाट अरु देवी सत्य र धर्मको रक्षा गर्न जगतमा प्रकट भएका हुन् ।

शैलपुत्री देवी हरियो रंङमा रहेको चित्रण गरिएको छ । शिरमा अर्धचन्द्र धारण गरेकी, गलामा सेतो माला पहिरेकी,हातमा त्रिशुल र कमल लिएकी नन्दीमाथि चढेकी छन् भनेर उनको स्वरुप बताइएको छ । उनले जगतलाई प्राकृतिक सिर्जनाले सजाई संसारमा वैभव भर्दछिन् भन्ने पनि देवीभागवत दुर्गासप्तशति, चण्डी लगायतका ग्रन्थहरुमा उल्लेख गरिको पाइन्छ । यस दिन देवीमन्दिर चण्डीथान देउराली तथा दशैँघरमा देवी शैलीपुत्रीको आराधना गरी भक्तहरुले देवी पूजा शुरु गर्दछन् । गाउँघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान गरिन्छ । सफलता ,सिद्धि र दीर्घायुको कामना गरिन्छ ।

भगवती देवी दुर्गाभवानीले आसुरी वृत्तिका दानवमाथि विजय प्राप्त गरेको खुशियालीमा दशै मनाउन थालिएको पौराणिक प्रसंग छ । साथै भगवान रामचन्द्रले सनातन संस्कृति र ध्यानसाधनामा रहेका ऋषिजनको रक्षा गरी सत्य स्थापना गर्न देवी दुर्गाभवानीको आराधनाबाट शक्ति प्राप्त गरेको पौराणिक प्रसंगको अनुसरण गरी दशैपर्व मनाउन थालिएको पाइन्छ ।
दशैँको प्रथम दिन शक्तिपीठ,देवीमन्दिर तथा घरघरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिन्छ । जमरा राख्दा माटाको जलघडामा गोबर टाँसेर त्यसमा जौका दाना रोपेर राख्ने गरिन्छ । दशैघरमा पवित्र नदीको बालुवा र माटो राखेर त्यसमा जौ,गहुँ,मकैको बिउ बाक्लै छरेर विजया दशमी दिन आफूले लगाउने जमरा राखिन्छ । घटस्थापना गरिएको घडाको जल अभिषेक गरी विजया दशमीका दिन देवीप्रसादका रुपमा टीका र जमरा लगाइन्छ ।

सूर्यको प्रत्यक्ष प्रकाश पर्नबाट जोगाई गोप्यरुपमा उमारिने जमरालाई देवीको मनपर्ने प्रसाद वा शक्तिप्रदायक अन्नअङ्कुरण मानिन्छ । जमरा, देवी उपासनाको गुह्यज्ञानको सङ्केत पनि हो । यो विधि विश्वमै विशिष्ट छ । यव वा जौबाट उमारिने जमरा कृषिसभ्यताको पर्वीय प्रतीक र समृद्धिको स्वरुपमा रहेको छ । जौकोे पोषण आमाको दूध समान शक्तिदायक मानिन्छ । जौ सनातन संस्कृतिमा शुद्धि र हवनका लागि नभई नहुने प्राचीन अन्न हो ।

घटस्थापनासँगै दशैँ लागेपछि बाटो खन्ने घर लिपपोत गर्ने डाँडाभञ्याङ चौरचोकमा पिङ हाल्ने क्रम शुरु हुन्छ । यसै दिनदेखि बडा दशैँको शुभकामना आदानप्रदान गरिन्छ ।

देवीभक्तहरु दिनदिनै देवी मन्दिरमा गई देवी दर्शन गर्न थाल्छन् । काठमाडौ उपत्यकाका देवीभक्तहरु नवदुर्गा तथा विभिन्न शक्तिपीठको यात्रा गरी पूजाआजा गर्छन् । घरघरमा दुर्गाको महिमा गान भएका ग्रन्थ देवी भागवत, दुर्गासप्तशती, चण्डीको वाचन सप्ताह, नवाह थालिन्छ । मठमन्दिरमा देवीभजनको पर्वीय गायन आरम्भ गरिन्छ । धानकोदो फल्न लागेका बेला कृषिमा सहसमृद्धि ल्याउने प्रकृतिमाताको देनमा रमाई अन्नमा शक्ति भरियोस् भनी दशैँभर मठमन्दिर,घर तथा सञ्चारमाध्यममा वीररसमा सिर्जित शारदीय संगीत मालश्री धून बजाउन थालिन्छ ।

Comments

comments