एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष क्लबले यो सिजन त्यति उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् । लिग अन्तर्गत आइतबार राति भएको खेलमा बराबरीमा रोकिएपछि लियोनल मेस्सी कप्तानीको बार्सिलोना दोस्रो स्थानमा झरेको छ ।

साबिक विजेता बार्सिलोना अवे मैदानमा भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको हो । दुवै तर्फबाट पहिलो हाफमा नै गोल भएको हो ।

दोस्रो मिनेटमा नै एजेक्वीएल गाराईले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाति अग्रता दिलाए । २३ औँ मिनेटमा कप्तान मेस्सीले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।

त्यसपछि दुवै तर्फबाट गोल हुन नसकेपछि बार्सिलोना बराबरीमा रोकिन बाध्य भयो । बराबरीपछि ८ खेलबाट १५ अंक जोडेको बार्सिलोना सेभिल्ला भन्दा पछि परेको हो ।

राति नै भएको खेलमा सेल्टा डी भिगोलाई २–१ ले हराएको सेभिल्ला शीर्ष स्थानमा उक्लिएको छ । उसको ८ खेलबाट १६ अंक भएको छ ।

Comments

comments