काठमाडौं । ५५ वर्षसम्म फरक राजनीतिक ‘स्कुलिङ’मा रहेका दुई ठूला कम्युनिस्ट घटकले चुनावी गठबन्धनदेखि पार्टी एकतासम्मको अवधि पूरा गरेको एक वर्ष बितेको छ। गत वर्ष १७ असोजमा नयाँ शक्ति पार्टीलाई समेत साथ लिएर तत्कालीन एमाले–माओवादीले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा चुनावी तालमेल र लगत्तै पार्टी एकता गर्ने औपचारिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

समझदारीविपरीत नयाँ शक्ति गठबन्धनमा १० दिन पनि टिक्न सकेन। दुई घटकले भने गत जेठ ३ मा पार्टी एकता गरे। केन्द्रमा एकता भएको १ सय ३९ दिन पुगे पनि अझै ७ प्रदेश, २२ जनसंगठन, एक सम्पर्क समन्वय कमिटी, एक प्रवास कमिटी र मातहत कमिटीको अझै एकता हुन सकेको छैन। केन्द्रदेखि स्थानीय तहसम्म एकता प्रक्रिया अझै संस्थागत हुन सकेको छैन।

बलियो जनमत

एकतापछि तीनै तहको सरकारमा नेकपा बलियो शक्तिका रूपमा छ। केन्द्रमा १ सय ७४ सांसद प्रतिनिधिसभामा छन्। ४३ राष्ट्रियसभामा छन्। केन्द्रमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसमेतलाई लिएर दुईतिहाइ सरकारको नेतृत्वमा नेकपा अध्यक्ष केपी ओली छन्। सातै प्रदेशमध्ये ६ ओटामा नेकपा कुल ३ सय ५१ सांसदसहित सरकारमा छ। स्थानीय तहमा पनि ४ सय तहमा नेकपाकै अध्यक्ष÷प्रमुख छन्। वडाध्यक्ष नै ३ हजार ६ सय ६२ जना छन्।

टुसाउँदै विवाद

एकताको पाँच महिनासम्म नेकपाभित्र नेताहरूका असन्तुष्टि देखिएका थिएनन्। तर अहिले भने एकीकृत पार्टीभित्र आन्तरिक जनवाद कमजोर र साँघुरो बनेको भन्दै मतभेद टुसाउन थालेका मात्र छैनन्, एकअर्को पक्षमा आरोपप्रत्यारोप चल्न थालेको छ।

के–के भयो वर्ष दिनमा

– ०७४ असोज १७ः एमाले–माओवादी र नयाँ शक्तिले चुनावी तालमेल र पार्टी एकताको सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर

– ०७४ असोज २८ः गठबन्धनवाट नयाँ शक्तिको बहिर्गमन

– ०७४ कात्तिक १५ः एमाले–माओवादीले प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि ६०–४० का अनुपातमा निर्वाचन क्षेत्र बाँडफाँट

– ०७४ पुस २८ः कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारबाट माओवादी केन्द्रको बाहिरने निर्णय।

– ०७४ फागुन ३ः एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त।

– ०७४ फागुन ७ः एकीकृत पार्टी नामलगायत सातबुँदे सहमति।

– ०७५ जेठ ३ः पार्टी एकताको औपचारिक घोषणा।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

Comments

comments