काठमाडौं । पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुराग अहिले हलहरुमा लागेको छ । उक्त चलचित्रमा धमला पत्नी एलिजा गौतमले अभिनय गरेकी छिन् ।

चलचित्र अनुराग हेर्नको लागि हलहरुमा कलाकार, राजनीतिज्ञ र पत्रकारहरुको लागि विशेष शो समेत भइरहेको छ । चलचित्र हेरिसकेपछि नेता देखि पत्रकार र कलाकार सम्मले आफूलाई उत्कृष्ट चलचित्र बनेको भन्दै बधाई दिएको ऋषि धमलाले बताएका छन् । उनले यो चलचित्रमा गरेका गल्तीहरुलाई सुधार्दै आगामी वर्ष नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् । उनले आगामी वर्ष राजनैतिक चलचित्र बनाउने घोषणा गरेका हुन् ।

ऋषि धमलाले चलचित्र वितरकप्रति असन्तुष्टि जनाउंदै आएका छन् । उनले एकजना वितरकले धेरै चलचित्र हातमा लिने गरेको, आफ्नो चलचित्रलाई कम प्राथमिकता दिएको बताएका छन् । यसै कुरालाई लिएर छिट्टै चलचित्र क्षेत्रमा बढ्दै गएको राजनीति बारेमा बहस गरिने उनले बताएका छन् । उनले नेपाली चलचित्र क्षेत्रलाई अगाडी बढाउनको लागि चलचित्र क्षेत्रमा राजनीतिक खिचातानी छोडेर निर्माता तथा वितरकहरु सहकार्यका साथ अगाडी बढ्नुपर्ने बताएका छन् ।

Comments