काठमाडौं । राष्ट्रिय सभाकी सदस्य एवं गायिका कोमल वलीले यातायात व्यवसायीले अप्ठ्यारो सिर्जना गरेमा सरकारी कार्यालय र निजी स्कूलका बस सञ्चालन गरेर भएपनि दशैंमा यात्रुलाई घरसम्म जाने व्यवस्था गर्नुपर्ने बताएकी छिन् ।

उनले हचुवाका भरमा सवारीको भाडा वृद्धि नगर्न पनि सरकारको ध्यानाकर्षण गराइन् । राष्ट्रिय सभाको आइतवार बसेको बैठकको विशेष समयमा वलीले दशैंको समयमा यातायात व्यवसायीले सवारी साधन सञ्चालनमा अप्ठेरो ल्याउने बहाना गर्न लागेको भन्दै विकल्प तयार पार्नुपर्ने बताएकी हुन् ।

‘के विद्यार्थी, के महिला, के अशक्त, के पेशाकर्मी सबैले दशैंमा घरजाने टिकट पाउने व्यवस्था सरकारले गरोस्,’ उनले भनिन्, ‘सरकारी कार्यालयका साधन र निजी स्कूलका बसलाई पनि दशैंमा प्रयोग गर्न सक्छौं, ताकि व्यवसायीले समस्या देखाउन नपाउन् ।’

सांसद वलीले दशैंको समयमा बसको टिकटमा कालोबजारी हुने गरेको भन्दै यसको अनुगमन प्रभावकारी बनाउन माग गरिन् ।

‘सवारी साधनको टिकट खुलेकै दिन सकिने गरेको पाइन्छ । टिकट सकियो भनेर ब्ल्याकमा टिकट बेचिन्छ,’ उनले भनिन् ।

सांसद वलीले दशैंको समयमा हवाई सेवा पनि चुस्त बनाएर यात्रुलाई गन्तव्यमा पुग्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

Comments

comments