• बिदुर लामिछाने

आमा !

जब म
तिम्रो न्यानो कोखमा चल्मलाउँदै,
तिम्रो काखमा लडिबुडी गर्दै,
यो धर्तीमा पाइला टेक्छु र
छोरीको उपमा पाउँछु ,
म त्यसै दिन
बलात्कारी दानवहरुले
निर्माण गरेको मृत्यु शैय्यामा
दर्ता भइसकेको हुन्छु ।

तिमी मेरो दिसा-पिसाबसंग खेलिरहेकी हुनेछौ
म तिम्रो छाती, तिम्रो काखलाई
फनपार्क बनाइरहेकी हुनेछु,
मैले दिएको यातनालाई बिर्सेर तिमीले
मेरो खुशी देखेर मुस्कुराइरहेकी हुनेछौ ।
माफ गर आमा !
सायद ! म खुट्टा टेक्ने भएपछि
मेरै कारणले तिमी मुस्कुराउन बिर्सनेछौ ।

आमा !
जब तिमीले सुन्दर सपना देख्नेछौ र
मलाई पाठशाला धपाउनेछौ,
तब तिम्रा ती सुन्दर सपनामा
तिमीले थाहै नपाई तुसारो छाउनेछ,
म माथी दानवहरुको छायाँ आउनेछ ।

तिमीले मलाई विश्वास गर्नेछौ
ममा लायकको सन्तान देख्न थाल्नेछौ
त्यति नै बेला,
नरपिचासहरु मेरो जीवनसंग
खेल्न आउनेछन् आमा !
तिम्रा सपनाहरुको, मेरा सपनाहरुको दोहन गर्नेछन्
मलाई मृत्यु शैय्यामा पुर्याउनेछन् ।

मलाई माफ गर आमा !
म तिम्रो लायकको सन्तान बन्न सक्नेछैन ।

मलाई थाहा छ,
तिमी आफ्नो सपना सम्झेर भक्कानिनेछौ,
रित्तो काख देखेर छटपटिनेछौ
र, न्यायको लागि आवाज उठाउनेछौ,
तर आमा तिमी अर्को बाटो भएर
म संगै आएपछि खोजौंला
मेरो अस्तित्व, तिम्रो सपना !

किनकी, त्यहाँ तिमी एक्लै हुनेछौ आमा
उनीहरु न्याय भन्दा धेरै माथी छन्
मेरो जलेको लासको खरानीलाई
नागसकि र हिरोसिमाको माटो जस्तै बनाउंदै हुनेछन् ।

Comments

comments