मेलबर्न । नेपाली दूतावास अष्ट्रेलियाले सञ्चालन गर्न लागेको जर्नी टु नेपाल अभियान विहीवारदेखि शुरु हुदैछ ।

अष्ट्रेलियामा रहेको ज्ञान, सीप र दक्षता मात्र होइन पर्यटकहरुलाई समेत आकर्षित गर्ने उद्देश्यले यो अभियान चलाउन लागिएको हो । अभियानले नेपालमा लगानीको वातावरण बनाउन समेत मद्दत गर्ने दूतावासको अपेक्षा छ । बिहीबार क्यानबेरास्थित नेपाली दूतावासले संविधान दिवसका अवसरमा आयोजना गर्ने विशेष कार्यक्रममा अभियानको घोषणा गर्न गर्न लागिएको हो ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई नेपालमा गएर केही गर्ने उत्प्रेरणा जगाउन अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले नेपाल घुम्न जाने अष्ट्रेलियनहरुलाई र नेपालमा लगानी गर्न चाहने यहाँका लगानीकर्ताहरुलाई पनि अभियानले आकर्षित गर्ने अपेक्षा रहेको बताउनुभयो ।

दूतावासले बिहीबार नेपालको तेस्रो संविधान दिवसको अवसरमा ‘नेशनल डे’ कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम क्यानबेराको हयात होटलमा हुनेछ ।

Comments