काठमाडौँ । मलेसियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । मृत्यु हुनेमा वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहेका चार नेपाली समेत रहेको क्वालालम्पुरस्थित नेपाली दूताबासले पुष्टि गरेको छ ।

मलेशियाको सेलेङगर राज्यमा रोजगारीका क्रममा रहेका विशाल बुढाथोकी, सञ्जय उराव र नाम खुल्न नसकेका अन्य दुई नेपालीको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए ।

विषाक्त मदिरा सेवनकै कारण गम्भीर बिरामी परेका ११ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

उनीहरुको स्थानीय सुनगाई अस्पताल, काजाङ अस्पताल र ब्यान्टिङ अस्पतलमा उपचार भइरहेको बताइएको छ ।

मृत्यु हुने अन्य १५ जनामा बंगलादेशी, भारतीय र म्यान्मारका नागरिक रहेको मलेसियन अनलाइन द स्टारले जनाएको छ । समाचारअनुसार प्रहरीले उनीहरुले मदिरा किनेको भनिएको स्टोरहरुबाट स्याम्पल लिई जाँचका लागि प्रयोगशालामा पठाइएको छ ।

Comments

comments