हङकङमा जारी सरकार विरोधी प्रजातन्त्र समर्थकहरुको आन्दोलनमा नेपालीहरूलाई  सहभागी नहुन नेपाली  महावाणिज्यदूतावासले अपिल गरेको छ । अपिलमा कुनैपनि मित्र राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने घोषित नीति एवं नेपालले अंगीकार गर्दै आएको ‘एक चीन नीति’ प्रतिको प्रतिबद्धता मुताविक सोही अनुरुपको व्यवहार प्रस्तुत गर्न अनुरोध गरिएको हो ।

 चिनियाँ कम्युनिष्ट पार्टी, नेसनल पिपुल्स कंग्रेसको स्थायी कमिटिले सन् २०१७ मा हुने निर्वाचनमा ‘एक व्यक्ति एक भोट’ नीति लागु हुने भएपनि हङकङको कार्यकारी प्रमुखमा पूर्व निर्धारित व्यक्तिमात्र उम्मेदवार हुन पाउने कानुन पारित गरेपछि यसको विरोधमा प्रजातन्त्र समर्थकहरुको प्रदर्शन जारी छ । सरकारी मुख्यालय र विश्वप्रसिद्ध व्यापारिक कम्पनीहरूका कार्यालय रहेको ‘सेन्ट्रल’ लाई लक्षित गरी प्रजातन्त्र समर्थकहरूले ‘अकुपाई सेन्ट्रल’ अभियान सुरु गरेका छन् |  प्रहरीले गत आइतबार प्रदर्शनकारीहरूमाथि बल प्रयोग गरि धपाउने प्रयास गरेपनि सडकमा उपस्थिति झनै बाक्लिएको छ  । आन्दोलनकै कारण  सहरका केही मुख्य ठाउँहरूमा सवारीसाधन ठप्प  छन् । प्रदर्शनमा युवा विद्यार्थीहरूको ठूलो सहभागिता छ ।  हङकङका कार्यकारी प्रमुख सि वाई लिउंगले बिहीबारसम्म राजीनामा नदिए सरकारी भवन कब्जा गर्ने चेतावनी प्रदर्शनकारीले  दिएका छन् |

अमेरिका र ब्रिटेन लगायतका शक्ति रास्ट्रहरुले प्रजातन्त्र समर्थकहरुको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार प्रति सम्मान गर्न चीन सरकारलाई आग्रह गरेको छ | तर चीनले आफ्नो अन्तरिक समस्यामा नमुछिन अन्तराष्ट्रिय समुदायलाई चेतावनी दिएको छ |

Comments

comments