माफ गर्नुहोला
त्यो मन्च मेरो लागि होइन,
अहँ,
म त चर्को स्वरमा बोल्दिन
गीत गुनगुनाउदिन
खुलेर हाँस्दिन
मलाई अलच्छिनाइ बन्नु छैन ।

माफ गर्नुहोला
त्यो कुर्सी र माइक मेरो लागि होइन
म वादविवाद गर्दिन
म शिर उच्च बनाएर बोल्दिन
म आँखा जुधाएर हेर्दिन
मलाई सोमत नभएकी बन्नु छैन

माफ गर्नुहोला
पारिको त्यो सुनौलो क्षितिज मेरो लागि होइन
म एक्लै हिँड्दिन
म अपरिचित सँग बोल्दिन
म अपरिचित ठाउँमा पुग्दिन
मलाई चरित्रहिन बन्नु छैन

झुक्किनुभयो ?

माफ गर्नुहोला
त्यो रमाइलो मेरो लागि होइन
म संगीतको तालमा निर्धक्क झुम्न सक्दिन
म केटाहरुसंग त्यहाँ पुग्न सक्दिन
म ती पेय पदार्थतिर आँखा लगाउन सक्दिन
मलाई छम्मा या छप्की बन्नु छैन ।

माफ गर्नुहोला
त्यो रोमाञ्चक यात्रा मेरो लागि होइन
म कसैको हात नथामी हिंड्न सक्दिन
२५ काटें,
सिउँदो नभरी ‘सेटल’ हुन सक्दिन
मेरो आफ्नै परिचयले बाँच्न सक्दिन
मलाई बूढी कन्या या थारो भैंसी बन्नु छैन

सन्तान चाह ?

माफ गर्नुहोला
मेरो यो कोख मेरो छोरीको लागि होइन
म ऊ बाँधिएको हेर्न सक्दिन
म जस्तै ऊ कुण्ठित भएर बाँचेको हेर्न सक्दिन
म ऊ छोरी हुनुमा हिनताबोध गरेको हेर्न सक्दिन
म ऊ छोरी भएकै कारण मारिनु परेको देख्न सक्दिन
मलाई अभागी आमा बन्नु छैन ।

– कामना न्यौपाने

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments