काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह नेपालको सबैभन्दा धनी अर्बपतिको सूचीको दशौं नम्बरमा रहेको छ । विश्वप्रसिद्ध पत्रिका फोर्बसमा प्रकाशित विवरण अनुसार पूर्व राजा ज्ञानेन्द्रको कुल सम्पत्ति ५ करोड डलर अर्थात ५ अर्ब ८० करोड रुपैयाँ रहेको छ । शाहका १७ कम्पनीमा लगानी रहेको फोर्बसले उल्लेख गरेको छ ।

सूची अनुसार नेपालको सबैभन्दा धनी अर्बपतिमा चौधरी ग्रुपका विनोद चौधरी रहेका छन् । उनको कुल सम्पत्ति १ अर्ब ६० करोड डलर अर्थात १ खर्ब ६० अर्ब रुपैयाँ रहेको छ । उनको नेपालभित्र र बाहिर गरी ८० कम्पनीहरु सञ्चालनमा रहेका छन् । उनी नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका सांसद रहेका छन् ।

अर्बपतिको सूचीको दोस्रो र तेस्रो नम्बरमा क्रमश शेष घले र डा उपेन्द्र महतो रहेका छन् । उनीहरु दुवैजना एनआरएनका पूर्व केन्द्रीय अध्यक्ष हुन् । उनीहरुका कुल सम्पत्ति क्रमशः ४१ करोड डलर अर्थात ४१ अर्ब रुपैयाँ र ३६ करोड डलर अर्थात ३६ अर्ब रुपैयाँ रहेका छन् ।

सुमार्गी समूहका अध्यक्ष अजय सुमार्गी अर्बपति नेपालीको सूचीको चौथो नम्बरमा रहेको छ । उनको कुल सम्पत्ति २० करोड डलर अर्थात २० अर्ब रुपैयाँ रहेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणा अर्बपतिको सुचीको सातौं नम्बरमा रहेका छन् । उनको कुल सम्पत्ति ८ करोड ४० लाख अर्थात ८ अर्ब रुपैयाँ रहेको छ ।

Comments