रौतहट । लालबकैया नदीमा हिजो साँझ ७ः३० बजे भएको डुङ्गा दुर्घटनामा बेपत्ता भएकाहरु मध्ये एक जनाको शव फेला परेको छ ।

भारतीय भूमि बेलवाघाटमा फेला परेको शव इशानाथ नगरपालिका ४ की ३५ वर्षिया रुना देवी पटेलको भएको पुष्टि भएको छ । २३ जना अझै बेपत्ता रहेको अनुमान छ । बेपत्ताहरुको खोजी र उद्धार कार्य जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु खोजी र उद्धार कार्यमा जुटेका छन् । डुङ्गा दुर्घटना भएको १२ घण्टा बितेकोले नदीमा डुबेर बेपत्ता भएकाहरुको जीवित उद्धारको सम्भावना न्युन रहेको छ । ठूलो संख्यामा हताहतको परिणाम आउने आशंका गरिएको छ ।

दुर्घटनाबारे फरक फरक तथ्यहरु जानकारीमा आईरहेको छ । रौतहट प्रहरीले पनि डुङ्गामा कतिजना सवार यात्रु संख्या ,पौडेर बाँच्न सफल र बेपत्ता कति छन् भन्ने यकिन तथ्याङ्क दिन सकिरहेको छैन । १५ जनाको सकुशल उद्धार गरिएको बाहेक अन्य तथ्याङ्कहरु फरक परेको छ । पौडेर बाँच्न सफल यात्रु विस्वनाथनाथ राय यादवले उक्त डुङ्गामा ३५ देखि ४० जना यात्रु सवार रहेको बताएका छन् । डुङ्गा चलाउने पप्पु चन्द्रवंशीले पनि डुङ्गा ४० यात्रु रहेको बताए । नदी किनारमा खोजी र उद्धार कार्यका लागि जुटेका स्थानीयहरुले कम्तीमा २५ जना नदीमा बेपत्ता भएको दावी गरेका छन् ।

रौतहटको सदरमुकाम गौर नगरपालिका वडा नम्बर ४ र ईशनाथ नगरपालिका वडा नम्बर २ बन्जराहाको वीचबाट बग्ने लालबकैया नदीमा डुंगा दुर्घटना भएको प्रहरीले जनाएको छ । ईशनाथ नगरपालिका–२ बन्जराहाघाटबाट गौर नगरपालिका स्थित टिकुलियाघाट तर्फ आउदै गरेको डुङ्गा नदीको बीचभागमा आइपुगे पछि निर्मााधिन पुलको पिलरमा ठोक्किएर दुर्घटना भएको हो ।

पौडेर बाँच्न सफल विश्वनाथ राय यादव भन्छन् डुङ्गा नदीको मध्यभागमा पुगेपछि पानीको वेग तिव्र थियो । डुङ्गा हुत्तिएर पुलको पिलरमा ठोक्कियो । नदिपारी रहेको खेतवारीमा काम गर्न गएका र रक्षाबन्धनका लागी दिदी बहिनीको घर हिडेकाहरु डुङ्गा दुर्घटनामा परेका हुन् ।

डुङ्गा डुबे पछि सात जनाले पौडेर ज्यान बचाउन सफल भएका थिए । ५ जनालाई उद्धार टोलीले खोजतलास गरेर उद्धार गरे । डुङ्गा दुर्घटनामा परी पौडेर ज्यान जोगाउनेहरुमा डुङ्गा चालक पप्पु चन्द्रवंशी, सीतादेवी सहनी,विजय चन्द्रवंशी, गीता देवी सहनी, रामजनम राउत, जगदिश सहनी र सीमादेवी लगायतका रहेका छन् ।

डुङ्गा दुर्घटनाको खवर फैलिनासाथ स्थानीयबासिन्दा र जिल्ला प्रहरी कार्यालय रौतहटबाट तत्काल खटेको प्रहरीको टोलीले उद्दार कार्य शुरु गरेको थियो । पछि सशस्त्र प्रहरी र नेपाली सेना पनि खोजी र उद्धारका लागि घटनास्थलमा परिचालित भएको थियो । सुरक्षा निकायले भारतीय सुरक्षा निकायसित समन्वय गरेर भारततिर पनि खोजी कार्य जारी राखिएको छ ।

पौडेर बाच्न सफल भएका घाइतेहरुको स्थानीय वैरिया अस्पतालमा उपचार भइरहको उद्धार कार्यमा संलग्न प्रहरी निरीक्षक ओम प्रकास यादवले बताएका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आफै घटनास्थलमा उपस्थित भएर खोजी तथा उद्धार कार्यको समन्वय गरिरहेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको पौडीबाज टोलीलाई परिचालन गरेर वेपत्ता भएका व्यक्तिहरुको खोजी कार्य तिव्र बनाइएको रिजालको भनाई छ । सिमावर्ती क्षेत्र २ किलोमिटर मात्रै रहेको हुँदा वेपत्ता भएकाहरु बगेर अधिकांश भारत तर्फ पुगेको हुन सक्ने आशंका गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments