कञ्चनपुर । निर्मला पन्तको हत्याको अनुसन्धान गर्ने क्रममा प्रहरीले बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । उनीहरु दिदी बहिनी हुन् ।

भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट शनिबार बिहान बम दिदी बहिनी पक्राउ परेका हुन् ।

निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला वेपत्ता बनेकी थिइन् । सो घरमा उनी आफूसँग पढ्ने साथी १८ वर्षीया रोशनीलाई भेट्न गएपछि बेपत्ता बनेकी हुन् ।

यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन ।

दुई तले घरमा बबिता र रोशनी मात्रै बस्दै आएका थिए । उनीहरुका बुवाआमा दार्चुलामा बस्दथे । निर्मलाको हत्यापछि भने बाबुआमा सोही घरमा आएर बस्दै आएका छन् ।

निर्मला हराएको दिन साउन १० गते अपराह्न पाँच बजे निर्मलाकी आमाले सो घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी दुई बजे नै यहाँबाट हिँडेको र अम्बा दिएर पठाएको बताएकी थिइन् ।

भोलिपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेपछि बबिताले ‘लास पनि त्यतै होला’ भनेको पीडित परिवारको दाबी छ ।

दुवै दिदी बहिनीको पोलीग्राफ परीक्षण गर्ने प्रहरीले बताए पनि अहिलेसम्म उनीहरुमाथि अनुसन्धान भएको थिएन ।

दुई जना मात्रै बस्दै आएको उक्त घरमा बम दिदी बहिनीलाई भेट्न एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्रायजसो आइरहने गरेको स्थानीयबासीको भनाइ छ ।

प्रहरीले यही विषयमा बुझ्नका लागि उनीहरुलाई पक्राउ गरेको हो ।

Comments