काठमाडौं । एसिया कप छनोटको तयारी गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा नेपालले श्रीलंकाको फस्ट क्लास क्लब ब्लुमफिल्ड क्लबलाई डकवर्थ लेविस ९डिएल० पद्दतिको आधारमा १७६ रनले हराएको हो ।

नेपालले दिएको ३२४ रनको फराकिलो लक्ष्यसहित घरेलु टोलीले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिएको थियो । खेल रोकिनुअघि ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो । त्यसपछि खेल हुन सकेन र नेपालले डिएलको आधारमा खेल आफ्नो बनायो ।

ब्लुमफिल्डका लागि सनोज धर्शैकाले ३८, सचीन जयवर्द्धनेले ३० तथा कुसन एकनायके र सेशन फर्नान्डोले समान १६र१६ रन जोडे । नेपालका सागर पुनले ३ विकेट लिए । त्यस्तै ललित भण्डारीले २ तथा बसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान १र१ विकेट लिन सफल भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३२३ रन बनाएको थियो । नेपालको उच्च योगफलमा दिपेन्द्र सिंह ऐरीले शतकीय इनिङस खेले । दिपेन्द्रले ९६ बलमा १२१ रन बनाए । यस्तै सागर पुनले ८२ बल खेल्दै ९२ रनको योगदान दिए ।

त्यसबाहेक नेपालका कप्तान पारस खड्काले २३ बलमा २३ रन बनाए भने करण केसीले २६ र अनिल कुमार शाहले १७ रनको योगदान दिए । ब्लुमफिल्ड लाहिरु सन्जयले २ विकेट लिए ।

मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा अभ्यास खेल खेलिरहेको हो । नेपालले अब अन्तिम अभ्यास खेलमा कोल्ट्ससंग आइतबार उसैको मैदानमा खेल्ने छ ।यसअघि नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको थियो ।

तीन अभ्यास खेलपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् ।

एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।

Comments

comments