भारत । बलिवुड अभिनेत्री प्रियंका चोपडा र हलिवुडका नायक, गायक तथा गीतकार निक जोनासबीच चिनजानको केही समयमै इंगेजमेन्ट् भएको छ । टेक्सासका गायक तथा जोनास ब्रदर्स नामक साङ्गीतिक समूहका पूर्व सदस्य जोनास र बलिवुड चर्चित अभिनेत्री प्रियंकाबीच मुम्बइमा इन्गेजमेन्ट भएको हो ।

दुवैले भारतीय परम्परागत पहिरन लगाएका थिए भने भारतीय परम्पराअनुसार उनीहरुले इन्गेजमेन्ट गरेका हुन् । चोपडा र जोनासबीच इन्गेजमेन्ट् हुने हल्ला करिब ३ सातादेखि चलेको थियो, तर दुवैले त्यसबारे पुष्टि गरेका थिएनन् । दुवैबीच विवाह हुने कुरा पक्कापक्की भएपनि विवाह कहिले हुने भन्नेचाहिँ घोषणा भएको छैन । दुवैले आआफ्नो इन्स्टाग्राममा उस्तै तस्बिर पोष्ट गरेका छन् । जोनासले चोपडा भविष्यकी पत्नी भनेर लेखेका छन् ।

चोपडा सन् २००० की विश्व सुन्दरी हुन् भने उनले ५० भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेकी छिन् । सलमान खान, शाहरुख खान, अभिताभ बच्चन जस्ता बलिवुडका चर्चित अभिनेतासँग उनले अभिनय गरेकी छिन् । थुप्रै उपाधि र प्रशंसा कमाएकी प्रियंका बलिवुडमा धेरै आम्दानी गर्ने अभिनेत्री पर्छिन् ।

बलिवुडमा नाम कमाएकी उनले क्वान्टिको अमेरिकी टिभी सिरियलबाट हलिवुडमा प्रवेश गरेकी थिइन् । उनले भेन्टिलेटर, बे वाच र अ किड लाइक ज्याक जस्ता चलचित्रमा पनि अभिनय गरिसकेकी छिन् । सन् २०१८ मा ब्रिटेनका राजकुमार ह्यारीसँग हलिवुड नायिका मेगन मार्केलले विवाह गर्दा प्रीतिभोजमा सहभागी एकजना निम्तालुमा चोपडा पनि थिइन् । आफ्ना भाइ जो र केभिनसँग ब्याण्डमा रहेका जोनासले डिज्नी च्यानलमा आउने क्याम्प रक जस्ता चलचित्रमा खेलेका छन् । जोनासले अभिनय थाल्दा उनी सात वर्षका मात्रै थिए ।

उनको जन्म अमेरिकाको टेक्सास राज्यस्थित ड्यालसमा भएको थियो । २५ वर्षको उमेरमा विवाह गर्न लागेका उनी चोपडा भन्दा ११ वर्ष कान्छा छन् । उनले गत जुन महिनामा लण्डनमा प्रियंकालाई प्रेम प्रस्ताव राखेको बताइएको छ ।

Comments

comments