काठमाडौँ । ‘तपाई त आउनुभएछ । खै मेरो श्रीमान त आँउदैनन्’ आफ्नो तरकारी पसलमा आउने ‘मलेसियन लाहुरे’ लाई फूलमाया वाइवा सोध्ने गर्छिन्, ‘हाम्रो मान्छेले किन माया नै मारेर बसेका होलान् ?’

उनी जोरपाटी चोकको सडकमा तरकारी बेच्दै बस्छिन्। गरिखाने एउटा ठेला थियो। नगरपालिकाले खोसेर लगिदियो। अहिले सडकमै बोरा ओछ्याएर तरकारी बेच्दै आएकी छिन्। मलेसियामा काम गरी फर्केर आउनेलाई भेट्नासाथ आफ्ना श्रीमान् वीरबहादुरको तस्बिर देखाउँदै सोध्छिन्, ‘तपाईले यो मान्छेलाई कतै देख्नु भएको छ? चिन्नुहुन्छ?’

वीरबहादुर २०५९ चैत २० मा मलेसिया उडेका थिए। त्यतिखेर वीरबहादुरको छोरो ७ वर्षको थियो। छोरालाई साह्रै माया गर्थे। बोर्डिङमा पढाउथे। मलेसिया गएपछि यी सवै भुले। उनी के गर्छन्? कहाँ छन्? कोसँग बस्छन्? फुलमाया बेखबर छिन्।

‘धन कमाएर एउटा टेक्ने थलो बनाउला भनेर जानुभएको थियो। मलेसियामा के भयो? के को हावाले छोयो। थाहा छैन’ फुलमायाले भनिन्, ‘गएदेखि फर्केर आउनु त भएन। हामीलाई सम्पर्क पनि गर्नुभएन। हामी आमाछोरालाई सडकमा ल्याएर छाडिदिनुभयो।’

फूलमायाको वीरबहादुरसँग दोहोरो सम्पर्क नै नभएको ठ्याक्कै १४ बर्ष वित्यो।दुई वर्षसम्म नियमित सम्पर्क हुन्थ्यो। त्यतिखेर मोवाइल थिएन। डेरामा सबैको घरमा ल्याण्डलाइन फोन थियो। ‘कहिलेकाँही त्यहीँ फोन आउथ्यो। दुखसुखको वातचित हुन्थ्यो। बेला बेला मलेसियामा खिचेका तस्बिरहरु पठाइदिनुहुन्थ्यो। त्यो तस्बिर हेरेर नै बुढाको हालखवर थाहा पाउँथे। माटाएको र दुब्लाएको थाहा पाउँथे। सुख छ कि दुख छ भनेर अनुमान गर्थे,’ उनले भनिन्।

उनका अनुसार मलेसिया जाँदा दुई बर्षपछि आउछु भन्थे, आएनन्। तीन वर्ष बितेपछि आउँछु भन्थे, आएनन्। त्यसपछि त फोन नै आउन छाड्यो।‘सुरुमा त पैसा पनि पठाएका थिए। दुई लाख ७० हजार रुपैयाँ पठाए। यो पैसाले मलेसिया जाँदा लागेको ऋण पनि तिर्न पुगेन,’ उनले भनिन्, ‘एक लाख ५० हजार रुपैयाँ ऋण लिएर गएका हुन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments