काठमाडौं । राष्ट्रपतिको अपहरण गर्ने वा गराउनेलाई १५ वर्ष कैद सजाय हुने भएको छ ।

भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको नेपालको नयाँ कानुनले राष्ट्रपतिको सुरक्षामाथि चुनौती दिनेलाई कानुनी कारवाहीको मापदण्ड तोकेको हो ।

अघिल्लो वर्ष असोज ३० गते प्रमाणिकरण भएर आउँदो भदौ १ गतेदेखि प्रचलनमा आउन लागेको मुलुकी अपराध संहिता ऐन २०७४ मा यस्तो नयाँ कानुनी व्यवस्था गरिएको हो । यो ऐनले अति उच्च पदस्थ व्यक्तिमाथि हुने विभिन्न कसुर र त्यसको कसुरदारमाथि हुने सजाय तोकेको छ ।

मुलुकी अपराध संहिता ऐनको भाग २ मा रहेको फौजदारी कसूरहरु अन्र्तगत परिच्छेद १ मा राज्य बिरुद्धका कसुरको व्यवस्था गरिएको छ ।

यसअन्र्तगत दफा ५७ मा राष्ट्रपतिलाई आक्रमण गर्न नहुने व्यवस्था गरिएको छ । यो दफाको उपदफा १ मा कसैले नेपालको राष्ट्रपतिको ज्यान लिन वा ज्यान लिने उद्योग गर्न हुँदैन भनिएको छ भने उपदफा २ मा कसैले नेपालको राष्ट्रपतिलाई कुनै किसिमले अपहरण गर्नु वा गराउनु वा निजको शरीर बन्धक लिन वा लिन लगाउनु हुँदैन भन्ने व्यवस्था छ ।

यस्तै दफा ३ मा कसैले नेपालको राष्ट्रपतिलाई कुनै किसिमले आक्रमण गर्नु वा गराउनु अपराध मान्दै दफा ४ मा कसूर गर्ने व्यक्तिलाई सजाय तोकिएको हो

उपदफा १ बमोजिमको कसूर भए जन्मकैद, उपदफा २ बमोजिमको कसूर अर्थात अपहरण भए दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद, र उपदफा ३ बमोजिमको कसूर अर्थात राष्ट्रपतिमाथि आक्रमण भए पाँच वर्षदेखि दश वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।

Comments

comments