काठमाडौं । गत शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र कायरा फाइनल कपी नभएको खुलासा भएको छ । चलचित्र कायरा प्रदर्शन भएको झण्डै एक हप्तापछि निर्माता तथा अभिनेता आर्यन सिग्देलले प्राविधिक कारणवस फाइनल सम्पादन विना नै रिलिज गर्नुपरेको रहस्य खुलाएका हुन् ।

नेपालमा गत शुक्रवार रिलिज भएको चलचित्र कायरा ’स्लो’ र ’लेन्दी’ भएको अधिकांश दर्शकहरुको गुनासो थियो । निर्माता आर्यनले पनि दर्शकलाई फ्ल्यास ब्याक बुझ्न गाह्रो भएको कुरा स्विकार्छन् । ’जय र कायराको नेपालमा बढेको सम्बन्ध र त्यो सम्बन्ध फिलिपिन्समा कन्टिन्यू भएको कुरा बुझ्न दर्शकलाई गाह्रो भएको पाइएको उनको भनाइ छ । कति दर्शकलाई फिल्म स्लो पनि लागेको प्रतिक्रिया पाएपछि फिल्मलाई पुनः सम्पादन गरिएको उनले जानकारी दिए । उनले फिल्मको नयाँ भर्सन यसै साताबाट हेर्न पाइने बताए । उनले टेक्निकल प्रोब्लमका कारण हलमा पुरानो भर्सन प्रयोग गर्नु परेको पनि खुलासा गरे । उनका अनुसार, २ घण्टा २१ मिनेटको फिल्म अब २ घण्टा ५ मिनेटको हुनेछ ।

अर्यान र साम्राज्ञीराज्यलक्ष्मी शाहको मूख्य भूमिका रहेको कायरा ९ अगस्टदेखि दुवईका विभिन्न शहरमा पनि प्रदर्शन भएको छ । फिल्मको प्रदर्शनका लागि आर्यन र साम्राज्ञी हाल दुवईमै रहेका छन् ।

फिल्म रिलिज भएको पहिलो सातामै आशातीत रुपमा दर्शकहरुलाई हलसम्म तान्न नसकेको कायराले दोस्रो हप्तापछि बल्ल फाइनल भर्सन त देखाउने भएको छ तर हेर्ने दर्शकचाहिं कति आउने हुन् कुन्नि ।

Comments

comments