काठमाडौं । राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ ।

पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो ।

त्यसलगत्तै अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङ प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति जारी गरेको थियो ।

सूर्यविनायक नगरपालिका–८ पाइलट बाबा आश्रम जाने जंगलमा अपहरणकारीले प्रहरी टोलीमाथि गोली प्रहार गर्न लाग्दा आत्मरक्षाका लागि चलाएको गोली लागी उनीहरूको मृत्यु भएको महाशाखाको दाबी छ । तर अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न अनुत्तरित छ । नगदेशस्थित डेराबाट उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने प्रश्नको पनि प्रहरीले उत्तर दिएको छैन ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मारिएका अपहरणकारीलाई प्रहरीको ७ गोली लागेको छ । प्रहरीले १९ राउन्ड फायर गरेको थियो भने अपहरणकारीका तर्फबाट कुनै फायर भएको छैन । ठूलो संख्यामा परिचालित प्रहरीले त्यति धेरै गोली फायर गर्नुपर्ने अवस्था आउनुलाई एक पूर्वउच्च प्रहरी अधिकारीले शंकास्पद मानेका छन् ।

अपहरणकारीको मृत्युको घटनामा स्वाभाविक नलाग्ने केही तथ्य बाहिर आएको ती अधिकारीले बताए । ‘सार्वजनिक भएको अपहरणकारीको फोटोमा उनीहरूको खुट्टामा चप्पल देखिन्छ । जंगलको बाटो चप्पल लगाएर दौडिनु त्यति सहज हुँदैन,’ उनले भने, ‘त्यस्तो अवस्थामा प्रहरीले उनीहरूलाई सजिलै नियन्त्रणमा लिन सक्थ्यो ।’ महाशाखाले भने उनीहरूले प्रहरी टोलीमाथि नै जाइलागेको दाबी गरेको छ । अपहरणकारीले बन्दुक ताकेको तर ट्रिगरमा समस्या देखा परेको अनुसन्धानमा खटिएका एक प्रहरीले दाबी गरे ।

महानगरीय अपराध महाशाखाका एक पूर्वअनुसन्धान अधिकारी दुई व्यक्तिलाई समात्न प्रहरीले अरू धेरै उपाय लगाउन सक्ने बताउँछन् । ‘महाशाखाले भनेजस्तै जंगलको बाटो दौडेर भाग्दै गरेका अपहरणकारीले गोली नै प्रहार गरेको भए पनि रुखको बीचमा सही निसान साँध्नु सजिलो होइन,’ उनले भने, ‘महाशाखाले अपहरणकारी व्यावसायिक आपराधिक समूहको व्यक्ति नभएको सूचना बिहानै पाइसकेको थियो । त्यस्तो अवस्थामा प्रहरीले घुँडामुनि गोली हानेर वा अपहरणकारी भाग्ने सम्भावित दिशामा व्यापक जनशक्ति परिचालन गरेर अपहरणकारीलाई सजिलै समात्ने सम्भावना हुन्थ्यो ।’

महाशाखाले दाबी गरेजस्तै अपहरणकारीहरू जंगलतर्फ भाग्दै गरेको अवस्थामा मुठभेड नभएको संकेत नगदेशका प्रत्यक्षदर्शी स्थानीयको भनाइले पनि दिन्छ । मंगलबार सम्पर्कमा आएका घटनास्थल क्षेत्रका केही बासिन्दाले महाशाखाको टोलीले दुई अपहरणकारीलाई समातेको र कुटपिट गरेको बताए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments