काठमाडौं । चलचित्र नाइ नभन्नु ल ले पहिलो चलचित्रबाटै बाल कलाकारहरुलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ । अनुभव रेग्मी नाइ नभन्नु लबाटै स्थापित भएका बालकलाकार हुन् । पाँचौं श्रृंखलासम्म आइपुग्दा पनि नाइ नभन्नु लले बाल कलाकारहरुलाई अघि सार्न नछोडेपछि निर्माता विकास आचार्यको व्यवसायिक नियतमाथि टिका टिप्पणी नै हुन थालेको छ ।

यसअघिका नाइ नभन्नु ल ब्राण्डका सबै चलचित्रमा बाल कलाकार अनुभव रेग्मी केन्द्रीय भूमिकामा थिए । बाल कलाकारलाई लिड रोलमा लिएर चलचित्र निर्माण गर्नैहुन्न भन्ने होइन तर नाइ नभन्नु ल का सिरिजहरुमा अनुभवलाई रोमान्टिक हिरोको शैलीमा प्रस्तुत गरिदै आएको छ । हातमा गीटार र फूल बोकेर बाल अभिनेत्रीको अघिपछि घुमिरहने अनुभवको भूमिकालाई लिएर अहिले खुल्लारुपमै टिका टिप्पणी हुन थालेको छ । गत साता आयोजित एक फिल्मी कार्यक्रममा निर्माता सन्तोष सेनले त घुमाउरो शैलीमा नाइ नभन्नु लका निर्देशक विकास आचार्यलाई बच्चाहरुलाई लभ गर्न उक्साउने निर्देशकसम्म भन्न भ्याए ।

निर्माता सेनको पछिल्लो अभिव्यक्तिको नाइ नभन्नु लको टिमबाट कुनै खण्डन आएको छैन । बरु नाइ नभन्नु ल टिम यतिखेर बाल कलाकार जोडी अनुभव रेग्मी र सेड्रिना शर्मालाई नचाउदै नयाँ गीत खिच्न व्यस्त रहेका छन् । रिलिजको मिति नजिक आइसकेको अवस्थामा हतार हतार बालकलाकारहरुमाथि नयाँ गीत खिचाएपछि नाइ नभन्नु ल टिमलाई निरुता सिंह,दिलिप रायमाझी,प्रियंका कार्की,केकी अधिकारी,स्वस्तिमा खड्का जस्ता स्थापित कलाकारहरुमाथि भरोसा नरहेको हो कि भन्ने टिप्पणी गर्न थालिएकोछ । चलचित्रकै कलाकारहरुले पनि निर्देशक आचार्यले सधैं अनुभवलाई मात्र बोक्ने गरेको भन्दै गुनासो गर्ने गरेका छन् ।

अब हेर्न बाँकी छ आगामी भदौ ८ मा रिलिज हुने नाइ नभन्नु ल ५ का निर्माता निर्देशक आचार्यले बालकलाकार अनुभव र सेड्रिनामाथि गरेको भरोसाले उनलाई व्यवसायिक मुनाफा दिलाउछ या रुवाउँछ ।

Comments

comments