एजेन्सी । पछिल्लो केही दिन यता तपाईको फेसबुकवालमा प्रसिद्ध अमेरिकी अभिनेता ड्वायन द रक जोहन्सनको नाममा खोलिएको फेसबुक एकाउण्टबाट शेयर भएको पोष्ट देख्नुभएको होला । उक्त पोष्ट शेयर गर्नेले लाखौं अमेरिकी डलर पुरस्कार जित्नसक्ने प्रलोभन दिइएको हुन्छ । तपाईमध्ये कतिले त साँच्चिकै छिट्टै लखपति हुनपाउने प्रलोभनमा शेयर पनि गरिसक्नुभएको होला । यतिसम्म त ठीक छ तर यसभन्दा अगाडि बढ्नुअघि भने यो समाचार पूरा पढ्नुहोला ।

वास्तवमा उक्त पोष्टसँग प्रसिद्ध अमेरिकी अभिनेता ड्वायन द रक जोहन्सनको कुनै सरोकार छैन । भिडियोमा जोहन्सनले बोलेको देखाइएको अडियो पनि नक्कली हो । जोहन्सनको निलो टिकमार्कसहित भेरिफाइड अधिकारिक फेसबुक पेजमा गएर यसको पुष्टि गर्नसकिन्छ ।

यो सबै फेसबुक स्क्यामर अर्थात ठगहरुको तपाईलाई ठग्ने प्रपञ्च मात्र हो । त्यस्त प्रोफाइल र पेज सञ्चालकहरुले तपाईलाई उनीहरुका चित्र र पोष्टलाई शेयर गर्न तपाईलाई आग्रह गर्दछ । त्यसपछि एउटा लिंक दिन्छ र भन्छ–ड्वायन द रक जोहन्सनको पछिल्लो फिल्म डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला । त्यसरी फिल्म डाउनलोड गर्नेमध्ये केहीलाई ड्वायनको तर्फबाट लाखौं डलर नगद पुरस्कारको चिठ्ठा पर्नसक्ने प्रलोभन पनि सँगै बाँड्छ । त्यसकालागि स्क्यामरहरुले तपाईसँग तपाईका नितान्त गोप्य र निजी विवरणहरु माग्न थाल्छन् । त्यसमा तपाईको व्यक्तिगत र आर्थिक दुवै विवरण पर्छन् ।

साइट सञ्चालकहरुले निशुल्क रुपमा फिल्म वा भिडियो डाउनलोड गर्न पाइने भनिएपनि त्यसअघि तपाईको वैधानिक एकाउण्ट र क्रेडिट कार्डको डिटेल्स माग्छ । त्यही विवरणको आधारमा स्क्यामरहरुले तपाईको क्रेडिट कार्ड र बैंक एकाउन्ट क्षणभरमै निल बनाइदिनसक्छ । बदलामा लाखौं डलर पुरस्कार त होइन बरु तपाईको फेसबुक एकाउन्ट नै ह्याक गरिदिनसक्छन् ।

यस्तो स्क्यामरहरुले ड्वायनको नाममा मात्र होइन टेलर पेरी,ज्यानेट व्याक्सन र विल स्कीथ जस्ता थुप्रै हलिउड सेलिब्रेटीहरुको नाम र फोटो प्रयोग गरेर फेसबुकमा ठगी धन्दा सञ्चालन गर्दै आएको पाइएको छ । त्यसैले यस्ता ठगहरुबाट बच्ने सबैभन्दा उत्तम विकल्प यस्ता पोष्टहरुलाई वेवास्ता गरिदिनु । अर्थात यस्ता पोष्टहरु शेयर,लाइक्स वा कमेन्ट केही गर्नुहुन्न । अझ यस्ता पोष्टहरुको लहैलहैमा लागेर आफ्नो निजी र गोप्य विवरणहरु दिने मुर्खता कदापि नगर्नुहोला ।

Comments

comments