काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । नेपाली टोलीले पाएको सफलताको प्रशंसा गर्दै बधाई पनि ज्ञापन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विभिन्न दलका शीर्ष नेता, कलाकार तथा समर्थकहरुले बधाई दिएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक संजाल ट्वीटरमार्फत नेपाली क्रिकेट टिमले नेदरल्याण्ड्समा अन्तराष्ट्रिय खेलमा हासिल गरेको जीतका लागि कप्तान पारस खडका र सम्पूर्ण खेलाडीहरुलाई बधाई ज्ञापन गर्नु भएको छ ।

साथै उहाँले नेपाली क्रिकेटले आगामी दिनमा थप सफलता प्राप्त गरोस् भन्ने शुभकामना समेत व्यक्त गर्नु भएको छ ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपाली खेलाडीको प्रशंसा गर्दै बधाई दिनु भएको छ । उहाँले पनि ट्वीट गर्दै नेदरल्याण्ड्सविरुद्ध नेपालले ऐतिहासिक जीत हासिल गर्न सफल भएबाट विश्व क्रिकेटमा समेत नेपालले गौरवपूर्ण इतिहास बनाउने आशा झनै बलियो भएको बताउनु भएको छ ।

‘नेपाली क्रिकेट टीमको यो जीतका लागि कप्तान पारस खडकादेखि सम्पूर्ण टीम, प्रशिक्षक र विश्वभरीका नेपालीहरुमा हार्दिक बधाई तथा भविष्यमा अझै राम्रो खेलको आशासहित शुभकामना व्यक्त गर्दछु ।’ ट्वीटमा भनिएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले पनि बधाई दिँदै सबै क्षेत्रमा यसैगरी शीर उँचो हुँदै जाओस भन्ने कामना गर्नु भएको छ । ‘एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको रोमान्चक जीतकालागि नेपाली टीमका सम्पूर्ण खेलाडीहरूलाई हार्दिक वधाई तथा धन्यवाद ! नेपालीको शीर सबै क्षेत्रमा यसरी नै उँचो हुदै जाओस्, समृद्ध र खुसी नेपाल अवस्य बन्छ!’ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पनि ट्वीट गर्दै भन्नु भएको छ, ‘पहिलो अन्तराष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो र अत्यन्त रोमान्चक बिजयको लागि टिम नेपाललाई हार्दिक बधाई । स्यावास पारस । नेपालको  जयहोस् ।

दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा शुक्रबार एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको थियो ।

Comments

comments