भोलि शनिवार अनि पर्सी आइतवार । सिंगै दुई दिन बाँकी थियो हप्ते छुट्टीको । त्यसैले आज शुक्रवारको साँझ सधैं झैं मन चङ्गा भैरहेको थियो । तै पनि रात छिप्पिदै गएकोले ब्ल्याङ्केटभित्र गुटुमुटु परेर निद्रादेवीलाई आह्वान गरिरहें तर अहँ फिटिक्कै निद्रा परे पो । अपार्टमेन्टभन्दा केही मिटर मात्र पर रहेको रेल्वे स्टेशनबाट आइरहेको संकेत ध्वनी र रेलको आवाजले रातको निरवतालाई चिरिरहेको थियो । यता मन जति चङ्गा बनेर कता कता उड्दै थियो उति नै आँखाबाट निन्द्र पनि भाग्दै थियो । शायद भोलि र पर्सी दुई दुई दिन छुट्टी भएर पनि मनमा मनोविज्ञानले असर गरिरहेको थियो ।

जबर्जस्ती ब्ल्याङ्केटमा गुटमुटिएर बस्नु भन्दा कतै बाहिर निस्कनु वेश भन्ने निष्कर्षमा पुगें । रातको ११ वज्दै रहेछ । म जुरुक्क उठें र लुगा लगाएर विरालोको चालमा सुस्तरी बाहिर निस्किएँ । आसपासका कोठामा रहेकाहरुको निन्द्रा नविथोलिऊन र स्वतन्त्रता नखोसियोस् भन्नेमा म पूरै सतर्क थिएँ । त्यसैले सुस्त चालमा हिडेर लिफ्टसम्म पुगें र लिफ्टबाट सोझैं भूइँतलामा झरेर बाहिर निस्किएँ ।

कहाँ जाने भन्ने गन्तव्य तय थिएन । त्यसैले एकछिन् रात्रीकालीन चिसो हावामा अझ स्वच्छ महसुस गरें र छेउको साकुर के (सर्कल के) कोम्बिनी स्टोरमा छिरें । चिसो निकै भएकोले तातो कफी पिउँनु उपर्युक्त लाग्यो । अनि एउटा तातो कफीको क्यान लिएर पैसा भुक्तानी गरेर म सरासर रेल्वे स्टेशनतिर लागें । रातीको समय भएर बाटो सुनसान थियो तर झलमल्ल सडक बत्तीले अन्धकारको कुनै अनुभूति दिलाएको थिएन । टिकट काट्ने मेशीनमा एक सेन येनको नोट छिराएँ । ३ सय येनको टिकट काटें र रेलको प्रतीक्षामा बसें । त्यति येनको टिकटले नागोया स्टेशनसम्म जान सकिन्थ्यो । हुनसक्छ मेरो गन्त्व्य पनि त्यही सम्म थियो ।

रेलमा चढें । त्यति राति पनि रेल भरिभराउ नै थियो । जापानको मबजुत सामाजिक सुरक्षा र अनुशासित समाजले उपलब्ध गराइदिएको स्वतन्त्रताको म भरपूर उपभोग गर्दै थिएँ । अचानक मन भने नेपालमा आइपुग्यो । सम्झें साँझको ७ बज्दा नबज्दै सुनशान बन्ने काठमाडौंका गल्लीहरु अनि त्योसँगै अलप हुने सार्वजनिक सवारीका साधानहरु ।

कहिलेकाहीं अबेर रात पर्दा घर फर्कन भोग्नुपरेका सास्तीहरु पनि एक एक गर्दै मानसपटलमा घुमिरहे ।

त्यही बेला रेल नागोया स्टेशनमा आइपुगेको जानकारी सहितको आवाजले मेरो तान्द्रा भंग गरिदियो । मेरो आजको गन्तव्य त्यहीसम्म थियो,त्यसैले म ओर्लिएँ ।

शुक्रवारको रात भएर होला रेल्वे स्टेशनमा निकै चहलपहल थियो । कोही जोडि बाँधेर गफिदै थिए कोही समूहमा बसेर वियरको चुस्की र चुरोटको धुवाँ उडाउँदै थिए । उनीहरुको त्यो स्वतन्त्रता र उनीहरुले बाँचिरहेको जीवन साँच्चिकै लोभलाग्दो थियो । भलै उनीहरुका पनि नदेखिएका कथा अर्कै होलान् । अभाव र तनावले उनीहरुलाई पनि सताउँदो हो तर त्यो सबैलाई विर्सेर यतिखेर भने उनीहरु साँच्चिकै लोभलाग्दो जीवन बाँचिरहेका थिए ।

म नजिकैको भेन्डर मेशिनबाट एउटा वियरको क्यान लिएर ती भाग्यमानी जापानी नागरिकहरुको स्वतन्त्रता र उनीहरुले बाँचिरहेको जिन्दगीप्रति भित्रभित्रै ईश्र्यमा जलिरहें ।

अचानक मेरो आँखा रेल्वे स्टेशन छेउको भर्याङ्मा पुग्यो । त्यहाँ एउटी युवती एक्लै बसिरहेकी थिइन् । मैले कौतुहलतापूर्वक उनैलाई नियालिरहें । लाग्थ्यो उनी केही उदास देखिन्थिन् । यो मध्यरातमा एक्लै तरुनी युवती ? त्यो पनि रेल्वे स्टेशनमा ? अनि उदास मुडमा ? एकैचोटि अनेक कौतुहलताले मनभित्र काउकुती लगाइरहेको थियो ।
निकै बेर आँखैले पछ्याएर मात्र चित्त बुझेन मेरो । त्यसैले हिम्मत गरेर म पनि उनको छेउमै गएर बसें । मेरो उपस्थितिको उनलाई केही मतलबै थिएन । लाग्थ्यो उनले त पत्तोसमेत पाएकी थिइनन् ।

सुइमसेन । तिमी एक्लै ? मैले आँट गरेर जापानी भाषामै सोधें ।

मेरो सोधाइपछि उनले मलाई एकपटक तलदेखि माथिसम्म नियालेर हेरिन् । तर केही जवाफ पर्काइनन् ।
टेन्सनमा देखिन्छौ । केही समस्या पो पर्यो कि ? फेरि मैले नै सोधें ।

हो,आज आमासँग झगडा पर्यो । अनि म निस्केर यहाँ आएँ । यसपटक चाहिं उनले जवाफ फर्काइन् । उनको आवाजले प्रष्ट पारिरहेको थियो कि उनले आज पिएकी छिन् । त्यसैले उनी नशामा छिन् ।

आमासँग झगडा पर्दैमा यसरी पिएर बस्नुपर्छ त ? आखिर आमा त आमै हुन् नि होइन ? मैले सम्झाएँ ।

हो,तर आज चित्त दुख्ने गरी भन्नुभयो । जुन म सहनै सकिनँ । के मेरो व्वाइफ्रेण्ड नहुनु मेरो कमजोरी हो ? तर आमा कुरै नबुझि ममाथि खनिनुहुन्छ । अनि म नरिसाउँनु ?

उनको कुरा सुनेर म नजावफ बनिरहेको थिएँ । मूल प्रसँग केहो ? भन्ने भेउ नपाउँदा म अल्मलमा परेको थिएँ । शायद मेरो मौनता र अल्मलाई उनको लागि अप्रत्यासित थियो । त्यसैले उनले आफैंले सोधिन्–के तिमी पनि हाइस्कूल पढ्दैछौ ?

होइन,म विदेशी हूँ । म यहाँ काम गर्छु । मैले भनें ।

मेरो कुरा सुनेर उनले यसरी मलाई नियालिन् कि पुरुष भएर पनि मलाई अप्ठ्यारो लागिरहेको थियो ।

तिमी त काटीकुटी जापानी जस्तै देखिन्छौ त । उस्तै छाला,उस्तै शरीर अनि उस्तै चिम्सा आँखा । खैर उसो भए तिमीलाई अँग्रेजी बोल्न आउँछ ? उनले सोधिन् ।

आउँछ,किन नआउँनु ? मैले छोटो जवाफ दिएँ । मेरो कुराले उनी निकै उत्साहित बनिन् । अनि अँग्रेजीमा गफिन शुरु गरिन् । अधिकांश जापानीहरु अँग्रेजी भाषा बोल्दैनन् र बुझ्दैनन् पनि । तर उनको अँग्रेजी यस्तो राम्रो थियो,लाग्थ्यो त्यो उनको मातृभाषा हो ।

यति राम्रो अँग्रेजी कसरी जान्यौ ? मैले कौतुहलता रोक्नै सकिनँ ।

मैले हाइस्कूलमा अँग्रेजी भाषा पढेकी । यो मेरो सानैदेखिको प्यासन थियो । किनकि मलाई विदेशीहरु मनपर्छ । यसो भनिरहँदा फेरि उनी कतै हराउँन पुगेकी थिइन् ।

बाइ द वे,म सागर । नेपालबाट आएको । तिम्रो नाम ? मैले आफ्नो परिचय दिदै सोधें ।

ओहो । सरी है । हाम्रो त परिचय नै पो भएको छैन है ? म युरिका । २४ वर्षकी भएँ । यही पर चारवटा स्टेशनपछि मेरो घर आउँछ । उनले पनि आफ्नो परिचय दिइन् ।

त्यसपछि पनि हाम्रो गफको सिलसिला रोकिएन,अझै बढ्दै गयो । घडीले मध्यरातको १२ बज्नै लागेको संकेत दिइरहेको थियो । हामी जति जति गफिदै थियौं,त्यति नै एक अर्कासँग खुल्दै पनि थियौं ।

मलाई तिमी केही खान अफर गर्दैनौं ? मलाई भोक लागेको छ । उनको अचानकको प्रस्तावले म फेरि अल्मलिएँ । तर उनको प्रस्तावले झनै हामीबीचको दुरी घटाउँदै थियो । त्यसैले मनमनै दंग पर्दै पनि थिएँ ।

अवश्य । ल भन तिमी के लिन्छौ ? नजिकैको फेमिली मार्ट स्टोरमा पुगेर मैले सोधें । उनले केही नबोली जुश र केक लिइन्,उनलाई र मलाई पुग्नेगरी ।

हामी फेरि नजिकैको एउटा बेञ्चमा गएर बस्यौं र सँगै खान थाल्यौं ।

तिम्रो देशको बारेमा बताउन । उनले फेरि कुरा झिकिन् ।

के बताउँ खै ? कहाँबाट शुरु गर्ने मेसो नपाएर मैले यसो भनें । तिमीलाई नेपालको बारेमा के थाहा छ ? मैले सोंधें ।

माफ गर्नुहोला,म यसबारेमा अलि कम अपडेट छु । उनले विनम्रतापूर्वक भनिन् ।

अनि मैले नेपालको बारेमा बताउँन शुरु गरें । नेपाललाई चिनाउँन सगरमाथा,बुद्ध र हिमालका प्रसँगहरु सुनाएँ मैले । उनले ए.. भनेर प्रतिक्रिया जनाइन् ।

म विदेशी मन पराउँछु । र, विवाहका लागि विदेशी केटा खोजिरहेको छु । उनले भनिन् ।

उनको कुरा सुनेर मेरो जवान मनमा पनि आशाका टुसाहरु पलाए ।  किन कि म पनि विदेशी नै थिएँ,त्यही पनि २७ वर्षको कुमार केटो ।

मैले भनें–हो र ? तर मनले सोध्दै थियो– म पनि विदेशी हूँ,तिमीलाई कस्तो लाग्यो ?

तर मैले आजसम्म मनले खाको कुनै विदेशी भेटिनँ । जति भेटें उनीहरुको आ आफ्नै स्वार्थ थियो । कि त उनीहरु मसँग एकरात विताउँन चाहन्थे,कि त मलाई प्रयोग गरेर यहाँको पिआर हासिल गर्न चाहन्थे । के म उनीहरुको प्रयोगको सामान मात्र हूँ र ? आक्रोश मिश्रित आवाजमा उनले भनिन् ।

त्यसो भए जापानी नागरिक नै खोजेको भए हुन्थ्यो होला नि । मेरो जिज्ञासा ।

जापानीहरुलाई त पैसाको पछाडि दौडदैमा फुर्सद हुँदैन । जस्तो मेरो वुवा यही पैसाको पछि लागेर वेपत्ता हुनुभएको झण्डै १५ वर्ष भयो । कमसेकम विदेशीहरुलाई त जिन्दगीको मजा लुट्न आउँछ । उनले तर्क दिइन् ।

घडीको सुइसँगै हाम्रो गफ पनि अघि बढ्दै थियो । यसबीचमा हामी निकै नजिकिसकेका थियौं । कुराकानीकै क्रममा उनले आफ्नो अमेरिकी ब्वाई फ्रेण्ड भएको पनि सुनाइन् । ऊसँग कसरी भेट भयो भन्नेदेखि रोमान्स,सेक्स र ब्रेकअपसम्मका सबै वेलिविस्तार लगाइन् उनले । म सुनिमात्र रहें । त्योभन्दा अर्को विल्कप थिएन मसँग ।

अहिले ऊ मेरै साथीसँग डेटिङ गर्दैछ । त्यो बोक्सी जस्ती नोरिकाले लाजै पचेर रोबर्टसँग भएका सबै कुराहरु मलाई आएर सुनाउँछन् । आज पनि सुनाउँदै थिईन् विहानै कन्डम लगाई सेक्स गरेको र कन्डम फुटेर हाँस्नु हाँसेको कुरा । यो पनि कहीं सुनाउँने कुरा थियो र ? तिमी आफैं भन त । आक्रोश मिश्रित स्वरमा यूरिकाले भनिन् ।

म रोबर्टलाई अझै विर्सन सकिरहेको छुइनँ । प्लिज साथी केही गरिदेऊ न । निकै वैचैन मुद्रामा उनी मेरो छातीमै आएर टाँसिन । मैले उनलाई अँगालोमा बेरेर कपाल मुसारिदिन थालें । उनको सुक्क सुक्क रोएको आवाज र तातो आँसुको अनुभूति मलाई भैरहेको थियो ।

म छु नि तिमीलाई साथ दिन तयार । मनले यस्तै भन्न चाहिरहेको थियो ।

एकछिनपछि आफूलाई सम्हाल्दै उनले भनिन्–रोबर्टले छोडेपछि मेरो त बेजोग नै भयो । झन् त्यहीबेला कम्पनीमा पनि मन्दीको असर पर्यो । तिमीलाई थाहा छ ? मेरै जस्तो तनाव सहन नसकेर मैरै एउटा साथीले त आत्महत्या गरिन् ।
यसो भनिरहँदा उनको मुहारको भाव क्षण क्षणमा परिवर्तन भैरहन्थ्यो ।

तर मैले पनि हिम्मत हारेकी छैनँ । ऊ जस्तै अग्लो,कैलो कपाल भएको मायालु अमेरिकी केटो खोजेरै छोड्छु । के मैले त्यस्तो केटो पाउँदिनँ त ?

अब भने निराश हुने पालो मेरो थियो । किनकि युरिकाको अमेरिकी मोहको कुरा सुनेर कता कता मनभित्र जाग्न थालेको सानो आशा पनि तुहिदै थियो । तैपनि जवाफ दिनु मेरो बाध्यता थियो । त्यसैले बोलें–तिमी यति सुन्दर छ्यौ,अवश्य पाउँछ्यौ ।

आफ्नो थोरै प्रशंसाले पनि मख्ख पर्ने नारीको स्वभाव यूरिकाको मुहारमा पनि भेट्टाएँ मैले ।

जब मैले रोबर्ट जस्तो कुनै ब्वाइफ्रेण्ड भेट्टाउँछु,सबैभन्दा पहिले त म तृप्त नभइञ्जेल ऊसँग सेक्स गर्छु । तिमीलाई थाहा छ ? रोबर्टले छोडेदखि म भोकै छु ।

यति भनिसकेर उनी अचानक ममाथि झम्टिन आइपुगिन् । अनि मेरो गाला,ओंठतिर चुम्न थालिन् । यो मेरो लागि अवसर र चुनौति दुवै थियो । त्यसैले रेल्वे स्टेशनमा छु भन्ने विर्सेर म पनि उनको आमन्त्रणलाई स्वीकार्न कस्सिएँ ।

एक अर्काको शरीरको तापक्रम बढ्न शुरु मात्र हुँदै थियो । त्यहीबेला उनको मोबाइल बज्यो । अनि ऊनी मबाट छुट्टिएर मोबाइलमा कुरा गर्न थालिन् । उनको बोल्ने शैलीले लाग्थ्यो । उनी कुनै केटाकेटीसँग कुरा गर्दैछिन् ।

पाँच मिनेट कुरा गरेपछि मोबाइल राख्दै उनले भनिन्–माफ गर्नुहोला साथी । मेरी छोरीको फोन थियो । उनलाई डर लाग्यो भनेर भन्दै थिई । त्यसैले अब म जान्छु । किनभने म मेरी छोरीलाई असाध्यै माया गर्छु । उनकै आग्रहमा हो मैले उनको बाबा रोबर्ट जस्तै अर्को ब्वाइफ्रेण्ड खोज्नुपरेको । मैले अघि बताएको मेरो हुनेवाला ब्वाइफ्रेण्डमा हुनुपर्ने आधारभूत विशेषताहरु पनि मेरी छोरीले नै निर्धारण गरिदिएकी हुन् । नत्र मेरो लागि त तिमी पनि कम थिएनौ ।
जाँदा जाँदै फेरि मेरो गालामा आफ्नो ओंठको डामै बस्ने गरी चुमेर गइन् उनी । नाजवाफ बनेर म उनले चुमेर छोडेको गाला छाम्दै उनी चढेर गएको रेल हेरिरहें ।
………………
त्यसपछि पनि कयौंपटक त्यसै गरी मध्यरातमा म नागोया रेल्वे स्टेशन धाइरहें । तर कुनै रात पनि यूरिकालाई कतै देखिनँ ।

Comments

comments