बिराटनगर । नेपालको अनुमतिबिनै १० बर्षअघि बिराटनगरमा खोलेको अवैध क्याम्प बन्द गरेको घोषणा गरेपनि भारतले त्यहाँबाट अझैसम्म भारतीय झण्डा हटाउन अटेर गरेको छ ।

बन्द गरिएको भनिएको क्याम्पभित्र भारतीय कर्मचारीहरूले साविककै गतिविधि गरिरहेको र कार्यालय बन्द भएजस्तो नदेखिएको स्थानीयबासीले जानकारी दिएका छन् ।

तर भारतीय कर्मचारीहरूले भने सामान सार्न समय लाग्ने भएकाले केही समयसम्म क्याम्पमा गतिविधि हुने बताएका छन् । क्याम्पबाट यसअघि दिर्इएको सवै सेवा भने बन्द गरिएको काठमाडौंस्थित भारतीय दुताबासले जानकारी दिएको छ ।

बिराटनगरमा २०६५ भदौ ४ गते खोलेको अवैध क्याम्प भारतले बुधबारदेखि बन्द गरेको जनाएको थियो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला भीषण बर्षाले सप्तकोशी बाँध फुटाएपछि त्यसलार्इ व्यवस्थापन गर्न भन्दै भारतले नेपाल सरकारको अनुमति बिना नै बिराटनगरमा क्याम्प खडा गरेको थियो ।

भारतले नेपाली गाडीलार्इ भारतीय रूट परमिट दिन भन्दै खोलिएको सो क्याम्प बिराटनगरमा सारेर अटेर गरि सञ्चालनमा ल्याएको थियो । तर तत्कालै कोशी पूल सञ्चालनमा आएपनि भारतले सो क्याम्प हटाएको थिएन ।

एकदशकदेखि नै बिराटनगरबाट भारतीय क्याम्प हटाउन नेपाली पक्षले माग गर्दै आएको थियो । नेपालको परराष्ट्र मन्त्रालयले समेत सो क्याम्प हटाउन नेपालस्थित भारतीय दुतावासलार्इ पत्राचार गरेको थियो । तैपनि भारतले क्याम्प हटाएको थिएन ।

नेपाली सवारीसाधनलार्इ रूट परमिट दिन क्याम्प खोलिएको बताएपनि सो क्याम्पबाट नेपालको आन्तरिक मामिलामा भारतले जासुसी गरिरहेको नेपाली अधिकारीहरूले जानकारी पाएका थिए ।

नेपालको अनूमति बिनै खोलिएको यो क्याम्पबाट भारतले अवकाशप्राप्त गोर्खा सैनिकहरूलार्इ निवृत्तिभरण (पेन्सन) बाँड्ने, पेन्सनपट्टा नवीकरण गर्ने, सवारी परमिट जारी गर्ने र भारत अध्ययन गर्न जाने नेपाली विध्यार्थीहरूलार्इ शैक्षिक अनुमति दिने तथा धार्मिक पर्यटकहरूलार्इ परमिट दिनेसम्मका काम गरिरहेको थियो ।

केहीअघि नेपालका प्रधानमन्त्री के।पी। शर्मा ओली भारतको भ्रमणमा जाँदा भारतीय पक्षलार्इ बिराटनगरको फिल्ड अफिस बन्द गर्न भनेका थिए । भारतीय दुताबासद्वारा जारी विज्ञप्तिमा बिराटनगर फिल्ड अफिसबाट यसअघि हुँदै आएको सबै काम काठमाडौंको लैनचौरस्थित भारतीय दुताबासबाटै हुने उल्लेख गरेको छ ।

Comments

comments