काठमाडौं । सरकारी तथ्यांकका अनुसार नै मासिक २३ देखि ४० हजारको हाराहारीमा नेपालीहरु वैदेशिक रोजगारमा जाने गरेको पाइएको छ । एकवर्षमा सरदर चारलाख नेपाली युवा विदेशिने गर्छन ।

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार, विश्वभर वैध र अवैध गरी करिब ५० लाख नेपालीहरु श्रमिकको रुपमा कार्यरत रहेका छन् ।

राज्यले श्रमस्वीकृति दिएका ११० वाहेक १५३ देशमा नेपाली कामदार गएको पाइएको छ । आर्थिक वर्ष २०७२÷२०७३ को एक तथ्याङ्कले ४३ लाख ७८ हजार नेपाली युवाहरु वैधानिक बाटो अपनाएर विदेश गएको देखिन्छ ।

एक वर्षमा ८ सय २१ जनाको मृत्यु

पछिल्लो वर्ष वैदेशिक रोजगारको सिलसिलामा अकालमै मृत्युवरण गर्ने नेपालीहरुको संख्या आश्चार्यजनक ढंगले बढेको देखाएको छ ।

बैदेशीक रोजगार प्रवद्र्धन बोर्डका अनुसार, आर्थिक वर्ष २०७४÷२०७५ मा २१ जना महिला सहित ८२१ जनाको मृत्यु भएको छ भने आर्थिक वर्ष २०७३÷७४ मा ८ सय ४२ जनाको मृत्यु भएको थियो । त्यसैगरी, तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०÷७१ देखि २०७४÷७५ सम्ममा करिब वैदेशिक रोजगारका लागि गएका ५ हजार कामदारको मृत्यु भएको छ ।

देशका ७७ जिल्लाहरु मध्ये ७० जिल्लाको कोही न कोही व्यक्ति वैदेशिक रोजगारका क्रममा मृत्युवरण गर्न बाध्य छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा मृत्युवरण गर्ने ८२१ जनाको परिवारलाई सरकारले क्षतिपूर्ति समेत उपलब्ध गराएको छ । मृतक मध्ये ६८६ जनाको शव काठमाडौंबाट जिल्लासम्म ढुवानीको समेत सरकारले ब्यवस्था गरेको बोर्डले जनाएको छ ।

मलेसिया नेपाली श्रमिकका लागि ‘डेथजोन’

मलेसियामा सबैभन्दा बढी नेपालीको मृत्यु हुने गरेको छ । यहाँ एकवर्षमा २८९ जना नेपाली कामदारको मृत्यु भएको छ । यसअर्थमा नेपाली कामदारहरुका लागि मलेसियालाई डेथ जोनकै रुपमा सावित भएको छ ।

मलेसियापछि साउदी अरवमा धेरै नेपाली कामदारको मृत्यु हुने गरेको छ । वैदेशिक रोजगार प्रर्वद्धन वोर्डको तथ्याङक अनुसार, साउदी अरवमा २०३, कतारमा १२३, संयुक्त अरव इमिरेट्समा ९४, दक्षिण कोरिया २२, कुवेत २६ र बहराइनमा नौ जना नेपाली कामदारको मृत्यु भएको छ ।

यस्तै वैदेशिक रोजगारको सिलसिलामा अंगभंग हुने र अपाङ्ग हुनेको समस्या पनि विकराल नै छ । भाषागत समस्या, सीपको अभाव, प्रविधिप्रति जानकार नहुँदा नेपाली श्रमिकहरु अंगभंग भइ अपाङग समेत हुने गरेका छन् ।

खाडी मुलुकको प्रचण्डगर्मी र खानपानका कारण विभिन्न रोग तथा तातो र चिसो मौसमको स–मिश्रणका कारण अक्सीजनको अभाव र संक्रमण रोगबाट समेत नेपाली श्रमिक अपाङग हुने र मर्ने गरेको छन् ।

नेपाली श्रमिक युवा अपाङग हुने गरेको विभिन्न मुलुकहरुमा पनि मलेसिया अगाडि नै देखिन्छ ।

आर्थिक वर्ष २०७४ ÷२०७५ मा मलेसियामा ११०, साउदीमा ८९, कतारमा ७०, अरव इमिरेट्समा ६२ र कुवेतमा १४ जना नेपाली कामदार अपाङग भएका छन् । ती मध्ये पाँचजना महिला छन् ।

Comments