–कामना न्यौपाने

“ कोसँग छस् अहिले ? कहाँ सुतिरहेकी छेस् ? सँगै सुतेको मान्छेलाई फोन दे त ! “

दिनभर गाउँ डुल्दा थाकेका हामी मस्त निन्द्रामा थियौं । मेरो छेऊमा सुत्नुभएकी दिदीको मोबाइलको घन्टी बज्यो । रातीको बाह्र बज्नै लागेको थियो । निन्द्राको तान्द्रमै दिदीले फोन उठाउँदा, उताबाट त्यो चर्को स्वर सुनिएको थियो । फोन गर्ने व्यक्ति दिदीका श्रीमान हुनुहुन्थ्यो, पढेलेखेका श्रीमान । र, उहाँलाई शंका थियो कि, ’फिल्डमा काम गर्न गएकी श्रीमती पुरुष साथीसँंग सुतिरहेकी त छैन ’? बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरुलाई जोडेर दिइएका विभिन्न अभिव्यक्तिका बारेमा समाचार पढ्दा,सुन्दा मलाई ती दिदीको निन्याउरो अनुहार एकाएक याद आइरह्यो ।

त्यस्ता अभिव्यक्तिहरु कसरी जन्मिन्छन् ? कसरी सार्वजनिक समारोहमै त्यस्ता अभिव्यक्ति दिने आँट हुन्छ ? यसतर्फ कसैले ध्यान दिन नै चाहँदैन । किनकि ती सधै साना कुरा बनेर लुकिरहेका हुन्छन्, कतै मनमा , कतै पानामा त कतै परम्पराको नाममा गुम्सिरहेका र लुकिरहेका हुन्छन् । बिडम्बना, जब त्यो राजनीतिसंग जोडिन्छ अनि बल्ल ठूलो मुद्दा बन्छ , हावाहुरी जस्तो ठूलो । केही छिन भयंकर रुप देखाउँछ र फेरि साम्य हुन्छ । त्यसको दीर्घकालिन उपचार खोज्नतर्फ कसैको ध्यान जाँदैन । यदि जाँदो हो त,ती महिलाका गन्थन बन्ने थिएनन्,साना कुरा लाग्ने थिएनन् ।

कतै सार्वजनिक पार्कमा या बाटोमा एक्लै बस्नुपर्छ–अनि कसैले आँखा झिम्काउँछन् , कोही नाम सोध्न त कोही रेट सोध्न आइपुग्छन् । आफ्नो साथी, दाजुभाइसँग कोही केटी बाइकमा बसी भने छिमेकीको नजरमा त्यो केटी ’केटासँग लागेकी’ हुन्छे । कोही महिला सामाजिक काममा सक्रिय हुन्छे र पुरुषहरुसँग कमिटिको बैठकमा बस्न थाल्छे भने उसको नाम ’चरित्रहीन’ मा दर्ता भइसकेको हुन्छ । जब कुनै महिला ठूलो पदमा पुग्छे, उसलाई भन्दा पहिले अरुलाई थाहा भैसक्छ कि, उसले कतिजना पुरुषसँग सम्बन्ध गाँसेकी छे, कति जनालाई आफ्नो शरीर सुम्पेर उसले त्यो पद पाएकी हो ।

पुरुष लेखकले यौनका बारेमा लेख्यो भने उसको कमेन्ट बक्समा कमेन्ट ओइरिन्छन् ’ वाह साहित्य ’ । जब महिलाले आफ्नो यौन अधिकारको बारेमा कुरा राख्छे, तब खासखुस र ट्रोल हुन्छन् ’केटी त फरवार्ड रै’छे’ । केटा युवतीहरुसँग यौनसम्बन्ध राख्नुमा आफूलाई ’मर्द’ सम्झिन्छ र अनुभवहरु सुनाउँछ । त्यही ’मर्द’ ले भर्जिन गर्लफ्रेन्ड र श्रीमती खोज्दै हिंड्छ । यदि आफ्नो श्रीमती वा गर्लफ्रेन्डको पहिले अफेयर रहेछ भने सोध्छ, ’ त्यससँग कतिपटक सुतेकी थिइस्’ ?

मध्यमवर्गको कुनै केटी जागिर लिन जाँदा उसको योग्यता उसका शरीरका अंगको आकारले नाप्छ, जागिर लगाइदिनेले जागिरको सट्टा उसको शरीर माग्छ । कोही पुरुषसँग भेट्दा यदि कुनै महिला नजिक बस्छे, हाँस्छे भने पुरुषले त्यसलाई ’ईशारा’ सम्झिन्छ । यदि विधवा महिलाको घरमा कोही पुरुष धेरै आउँछ भने उसको छिमेकीको नजरमा, त्यो विधवा त्यो पुरुषसँग ’सल्किएकी’ हुन्छे । निम्न वर्गका महिलाहरुको फाटेको चोलीमा हाम्रो समाजले गरिबी भन्दा पहिले शारीरिक वासना देख्छ । अनि, किन गर्छौ यो फेसबुके रमिता ?

शेरबहादुर तामाङले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर चिच्याउँदा, तिमी भित्रको ’तिमी’ ले तिमीलाई गिज्याएन ? महिला भनेको ’योनी’ हो भनेर बुझ्ने तिमीलाई, महिलाको पक्षमा बोल्दा तिम्रो पुरुषत्वले धिक्कारेन ? बंगलादेशमा एमबिबिएस पढ्दै गरेका छात्राहरुलाई सम्झिंदा, तिमीले आत्मसम्मान चिमोटिदिएका ती महिलाहरुको आकृति तिम्रा आँखामा आएनन् ?

अर्को कुरा, सार्वजनिक अभिव्यक्ति दिएर सम्बन्धित मुद्दालाई आफ्नो पक्षमा पार्नको लागि अभिव्यक्ति दिंदा किन पुरुष विद्यार्थीले त्यहाँ आफ्नो शरीर सुम्पिनुपर्छ भनिएन ? किनकि त्यसो भन्दा जनताको भावनालाई डगमगाईदिन सकिंदैनथ्यो, मानिसको संवेदनामा कम असर पर्ने थियो । यसको कारण,हाम्रो समाजमा, हाम्रो सोंचमा, ’यौनसम्बन्ध’ पुरुषको लागि उसको ’हक’ हो, क्षणिक रमाइलो हो र यौनसम्बन्धको हल्लाले उसको जीवनमा, इज्जतमा कुनै आँच आउंदैन । तर महिलाको त योग्यता, जीवन, इज्जत भनेको नै उसको शरीर हो, शरीरको पवित्रता हो । पुरुष मनोरञ्जन लिने व्यक्ति हो भने महिला मनोरञ्जनको साधन हो । ऊ धेरै पुरुषहरुसँग हाँसी भने मात्र पनि ’सस्तो’ बन्छे र लाजलाई आफ्नो गहना मान्छे भने गुणवान हुन्छे ।

त्यसैले त, मन्त्रीको राजीनामा पछि सामाजिक सञ्जालमा पोस्टहरु देखिन थालेका छन्– ’महिला भनेका संवेदनशील विषय हुन् । महिलाको बारेमा होश् पुर्याएर बोल्नुपर्छ’ । वाह समाज ! लाज, इज्जत, संवेदनशीलताको पगरी गुथाई–गुथाई उसको आत्मसम्मान लुटिरहेका छौ । उसलाई कमजोर र निरीह बनाइरहेका छौ । उसको संवेदनशीलतालाई हतियार बनाएर उसैलाई प्रहार गरिरहेका छौ । उसको जीवनमा हाँसो भन्दा बढी आँसुको महत्व देखाइरहेका छौ ।

अन्त्यमा, त्यो दोष सार्वजनिक अभिव्यक्ति दिने व्यक्तिको मात्र होकि हाम्रो सोंचको, हाम्रो परम्परा, हाम्रो सिकाई, हाम्रो संस्कार, हाम्रो सामाजिक संरचनाको पनि हो ? त्यो सार्वजनिक अभिव्यक्ति दिएका व्यक्तिहरु पदमुक्त भएपछि अब हाम्रो समाजमा महिलाको आत्मसम्मानलाई कसैले नचिमोटलान् ? के सबै महिलाहरु अब सुरक्षित हुनेछन् ? के सामाजिक सञ्जालमा राजनीति वा कुनै पनि पेशाका पुरुष र महिलाको सँगै रहेको तस्बिर, समारोहमा कानेखुसी गरिरहेको तस्बिर आयो भने, उनीहरुको सम्बन्धबारे कुतर्क नहोलान् ? के हरेक पेशाका महिलाले आफ्नो कार्यालय वा काममा शारीरिक शोषण भोग्नु नपर्ला ? साँच्चै नै, के अब महिलाको आत्मसम्मान पनि हाम्रो समाजको शब्दकोषमा समेटिएला ?

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments