काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफूले राजीनामा दिने तयारी गर्नुभएको छ ।

उहाँले आज दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गर्न लागेको उहाँका सहयोगीहरूले बताएका छन्।

‘मैले बोलेको कुराले आम मानिसलाई चोट परेका कारण राजीनामा दिन लागेको हुँ,’ मन्त्री तामाङले भन्नुभयो, ‘प्रतिष्ठाभन्दा ठूलो पद होइन ।’

उहाँले पार्टीको निर्देशन या दबाब भन्दापनि स्वेच्छाले राजीनामा दिन लागेको बताउनुभयो ।

यसअघि नेकपाले मन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको समाचार प्रकाशमा आएको थियो ।

बंगलादेशमा एमबीबीएस पढ्ने छात्रामाथि शेषण हुने गरेको अभिव्यक्तिका कारण उहाँ विवादमा तानिनुभएको थियो ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री तामाङले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जलमा चर्को विरोध भएको थियो ।

Comments