समयले हरेक मानवलाई केही न केही सिकाएको र बुझाएको हुन्छ। जीवन बुझ्ने क्रममा हरेक मानवले सहि र गलतको पहिचान गरेको हुन्छ। सानो छँदा राम्रो गर्नुपर्छ , असल हुनुपर्छ , सबैको इज्जत गर्नुपर्छ भनेर हरेकले सिकेको र राम्ररी बुझेको पनि हुन्छ। नैतिक शिक्षाको ज्ञान त आमा बाबु र वातवरणबाट जनावरले पनि लिएको हुन्छ, हामी त मानव हौ। सायद गाउँमा जन्मिएको भएर होला, जब म सानो थिएँ म सबैसङ्ग बोल्थें अनि सबैलाई आफ्नो मान्दै सम्मानको सहि अर्थ बुझ्न थालेँ।

हाम्रो गाउँ बाक्लो थियो। सबै अर्यालहरुको बसोबास भएको ठाँउ हो किशनडोल, जुन गाउँमा २०० जति परिवारको बसोबास छ। सायद म हरेक घरमा पुगेको छु अनि खाजा-खाना खाएर पारिवारिक वातावरण महशुस गर्ने मौका पाएको छु। त्यसैले पनि होला आज विदेशमा पनि मेरो छिमेकीसङ्ग सम्बन्ध राम्रो नै छ। स्वदेशको जति गहिरो त व्यस्तताले गर्दा पनि हुन सक्दैन तर आफ्नोपनको महशुस गर्ने मौका परदेशमा पनि मिलेको नै छ।

सानालाई माया, ठुलोलाई सम्मान गर्नुपर्छ भनेर सानोमा पढेको नै हो, व्यवहारमा उतारेको पनि हो। अनि त्यसै बेला राम्रो नराम्रोको पहिचान गर्न पनि सिकियो र बुझियो। थाहा भयो कि, समाजमा राम्रो-नराम्रो दुवै भेट्नु स्वाभाविक हो। कहिलेकाही सुनिन्थ्यो कि, जस्तोलाई त्यस्तै गर्नुपर्छ, एक किसिमले बुझ्दा ठिक हो जस्तो लाग्द्थ्यो। साथीभाइ सङ्गती सबैबाट राम्रो कुरा सिक्ने मौका पनि मिल्यो। मित्रताबाट सिकेको कुरा मध्ये आत्मीयता, भरोसा , साथको र प्रोत्साहनको महत्त्व , विश्वास , नि:स्वार्थ सहयोग आदि इत्यादि मलाई जिन्दगीमा सधैं प्यारो लाग्छ।

परिचय जिवनको महत्त्वपूर्ण पक्ष हो, परिचय बिना हरेक मानव अधुरो र अपुरो हुन्छ। तर, नाम हुनु र समाजले चिन्नु मात्र परिचय होइन होला जस्तो लाग्न थालेको केही बर्ष भयो। यहाँ केहि मानव सत्कर्म गरेर जीवनमा इज्जत कमाउन लागेको देख्दा मलाई उहाँहरुको मार्गमा हिंड्न मन लाग्छ, उहाँहरुको राम्रो पक्ष अङ्गालेर आफ्नो परिचय आफैं बनाउन प्रेरणा मिल्द्छ।

पैसा हरेक मानवको आवश्यकता हो। जरुरतमा पैसा चाहिन्छ भन्ने कुरा सानो बच्चालाई पनि थाहा हुन्छ। पैसा कमाउन राम्रो नियत भएको सबै मानव , परिश्रमी हातहरुलाई हृदयदेखि सम्मान गर्न नखोज्ने र गर्न नजान्नेलाइ त्यति मन पराउँदिन म। अरुको रगत-अप्सिना चुस्ने र अरुको बली चढाएर पैसा कमाउनु हुन्न भनेर जीवनमा धेरै सुनियो, पढियो अनि बुझियो पनि। सायद, त्यसकै प्रभाव पर्यो होला ।

आफूले सिकेको, भोगेको अनि बुझेको कुरालाई सम्मान गर्ने मन यहाँ सबैलाई हुन्छ । म पनि आजकल सानो प्रयाश गर्दैछु , आफूलाई केही राम्रो अनि सफा बनाउन खोज्दैछु। जीवनमा मलाई द्रव्य भन्दा इज्जत प्यारो लाग्छ, त्यसैले गलत नियत, गलत तरिका वा गलत नजर राखी पैसा कमाउनु हुन्न भन्ने कुरा सानो छँदा देखि, गाउँले जीवन देखि नै बुझ्दै आएको हूँ। त्यही कुरालाई निरन्तरता दिदै सुखी जीवन र खुशीयाली सङ्गाल्दै जीवन राम्रो चलेको छ । जीवन सन्तुष्ट छ, सरल छ र सप्पन्न छ।

– अनुप राज अर्याल
हाल : मेलबर्न , अष्ट्रेलिया

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments