काठमाडौं । विवादस्पद बलिउड मोडल तथा अभिनेत्री पुनम पाण्डेको उपस्थितिमा ‘विश्वकप’ फुटबलको फाइनल खेल देखाउने तयारी गरेको दरबारमार्गस्थित क्लव डेजाभुमा प्रहरीले हस्तक्षेप गरेको छ ।

गैर कानुनी तारिकाले उक्त कार्यक्रम गर्न लागेको थाहा पाएपछि प्रहरीले हस्तक्षेप गरेको हो । गृहमन्त्री थापाले देशमा शान्ति बनाई राख्न गैर कानुनी गतिविधि गर्नेलाई नछोड्न प्रहरीलाई कडा निर्देशन दिए लगत्तै प्रहरीले क्लव डेजाभुमा हस्तक्षेप गरेको हो ।

प्रशासनसँग पूर्वस्वीकृति नलिइ क्लव डेजाभुका सञ्चालकले पुनमको नाचसहित विश्वकफको फाइनल खेल आइबार राति देखाउने तयारी गरेकोले हस्तक्षेप गरेको प्रहरीले जनाएको छ । दरबारमार्ग प्रहरी प्रमुख डिएसपी दानबहादुर मल्लको नेतृत्वको टोली क्लबमा पुगेपछि क्लब सञ्चालकसहित दर्शकहरुको समेत भागाभाग भएको थियो । यस्तै हाल काठमाडौंमै रहेकी भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डे जबरजस्ती क्लव डेजाभुमा प्रवेश गर्न खोजे उनलाई पनि नियन्त्रणमा लिने प्रहरीको तयारी छ ।

यसअघि डेजाभुले शनिबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर प्रहरीकै अनुमतिमा कार्यक्रम गर्न लागेको बताएका थिए । तर, प्रहरीले भने अनुमति नलिएको जनाएको छ । डिएसपी मल्लले प्रशासनको पूर्वस्वीकृति नलिइ बलिउड मोडल पुनमलाई नचाउने तथा विश्वकप फुटबलको फाइनल देखाउन खोजेपछि शान्ति सुरक्षा बनाउन क्लव डेजाभुलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । उनका अनुसार क्लव डेजाभु आइतबार बन्द रहनेछ ।

डिएसपी मल्लले आइतबार रातिको कार्यक्रम हुन नदिन प्रहरी निरीक्षकको नेतृत्वमा टोली पठाएर क्लव डेजाभुलाई चारैतिरबाट घेरा हालेका छन् ।

Comments