एजेन्सी । सलमान खानसहित बलिउडका कलाकारहरुको कार्यक्रम आयोजना गर्ने नाममा लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा ओडीसि इन्टरटेन्मेन्टका सिमान्त गुरुङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।

निर्धारित समयमा सलमान खान कार्यक्रमका लागि नेपाल नआए पनि बेचेको टिकट बापतको रकम सर्वसाधरणलाई फिर्ता नगरेको आरोपमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ठगीको आरोपमा पक्राउ परेका गुरुङलाई प्रहरीले थुनामा राखेर अनुसन्धान सुरु गरेको छ। सलमान पहिलो पटक फागुन २५ मा नेपाल आएर २६ गते प्रस्तुति दिने कार्यक्रम तय भएको थियो।

तर सेक्युरिटी थ्रेट भएको भन्दै उक्त दिनको कार्यक्रम स्थगित भएको थियो। दोश्रो पटक जेठ १२ गतेको कार्यक्रम तय भएको थियो। सलमानले पनि नेपाली दर्शकहरुलाई सम्बोधन गर्दै आफू नेपाल आउने वचन दिएका थिए।

तर कालो हरिण काण्डले सलमान जेल जाने भएपछि उक्त कार्यक्रम हुन सकेन र सलमान नेपाल आएनन्।

यसरी कार्यक्रम पटक पटक स्थगित भए पनि कार्यक्रमका लागि भनेर बिक्रि भएका टिकटको पैसा अझै सम्म फिर्ता नगरेपछि गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

ओडिसीले सलमान खान, सोनाक्षी सिन्हा, कृति सेनन, प्रभु देवा, मिट ब्रदर, मनिष पल लगायतका कलाकार टुडिखेलमा उतार्ने भन्दै ५ हजार रुपैयाँ देखि २० हजार रुपैयाँ सम्मको टिकट विक्री गरेको थियो।

Comments

comments